एमालेको बैतडीदेखि सिन्धुपाल्चोकसम्मको यात्रा सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एमालेको बैतडीदेखि सिन्धुपाल्चोकसम्मको यात्रा सकियो

काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट महाकाली—मेची यात्रा शुरु ग¥यो । मध्यपहाडी पुष्पलाल यात्रालाई जनतासँग जोडिने अभिायनका रुपमा अघि बढाएको एमालेको लगभग आधा मध्यपहाडी यात्रा सकिएको छ । आजसम्म एमालेले बैतडीदेखि सिन्धुपाल्चोकसम्मको यात्रा सकिसकेको छ । सो क्रममा एमाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झुलाघाटदेखि नै अभियानमा जोडिरहेका छन् । यसबाट एमालेको युवापंक्तिलाई थप शाहस त प्रदान गरेको छ नै साथमा हरेक राजनीतिक दलमा संवद्ध व्यक्तिका साथै आम नागरिहरुमा थप उर्जा थपिएको छ । किनपनि भने ७२ वर्षको उमेरमा त्यो माथि जाडो याममा मध्यपहाडी लोकमार्गको यात्रा त्यत्तिकै कठिन हुन्छ । तर ओलीको आँटले भने युवापंक्तिमा थप उर्जा र जोश थपिएको भने पक्कै छ । जनतासँग नजिकिने अवसरका रुपमा हेरिएको एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राले पार्टीलाई थप बलियो त बनाउँछ नै साथै देशमा रहेका दूरदराजका समस्याको पहिचान गरी सम्बोधन गर्न पनि महत्वपूर्ण अवसर हुने निश्चित छ । यस क्रममा एमालेले मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाका स्थानीयहरुसँग छलफल र अन्तरक्रिया पनि गरेको छ । तर यात्राका क्रममा पार्टीले गरेका सार्वजनिक आमसभाहरुमा अध्यक्ष ओलीका भाषण सरकारलाई निशानामा राखेर गरिएको पाइन्छ । ओलीले यात्राका क्रममा सरकारबिरुद्ध निशाना साँधेको कुरा झुलाघाटदेखि सिन्धुपाल्चोकसम्म गरेका भाषणहरुले स्पष्ट हुन्छ । एमालेको यात्राका क्रममा सार्वजनिक कार्यक्रमलाई हेर्दा भने जनतासँगका गुनासा र समस्या समाधानको खोजितर्फ खासै केन्द्रित भएको देखिँदैन ।

पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई ‘मुलुकको समृद्धिका लागि संकल्प यात्रा’ भनिएपनि अध्यक्ष ओलीले त्यसलाई सरकारको बिरोधमा आम जनतालाई गोलबन्ध गर्ने अभियानको रुपमा प्रयोग गर्ने प्रयास गरेको पाइन्छ । त्यसो त ओलीले सो अभियान शुरु गर्नुअघि नै अब सरकारबिरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए । अभियानको क्रममा उनका अभिव्यक्ति सरकारको बिरोधमा केन्द्रित छन् तर अझै आधा भूभागको यात्रा बाँकी रहेकाले त्यस समयावधिमा के हुन्छन् भन्ने हेर्न बाँकी नै छ । कोशी प्रदेशमा पहिचानवादीहरुले एमालेको सो अभियानलाई प्रवेश नै गर्न नदिने भनेको कुरालाई लिएर प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पहिचानवादीलाई संरक्षण गरेको र सञ्चालन गरिरहेको भन्दै प्रधानमन्त्रीको आलोचना गरिरहेकाले पनि सहजै अनुमान लगाउन सकिन्छ की आगामी जिल्लामा ओलीका भाषणहरु सरकारप्रति आलोचना गर्ने भन्दा फरक हुने छैनन् । जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै सरकारको विकल्प खोजी गर्ने सन्देश ओलीले अभियानका क्रममा दिनेगरी आफ्नो अभिव्यक्ति दिएका छन् ।

सो अभियानको शुभारम्भ गर्दादेखि नै मुलुकको समृद्धिका लागि आफूहरु मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा जुटेको बताए पनि उनका अभिव्यक्ति सरकारविरुद्ध बढी लक्षित छ ।

ओलीले अभियानका क्रममा स्थानीयसँग अन्तरक्रिया पनि गरेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुले पनि उनीसँग स्थानीय समस्या र त्यसका समाधानका लागि पहल गरिदिन आग्रह नगरेका पनि होइनन् । तर उनले आफ्नो अभिव्यक्तिमार्फत देशको समस्या सत्तारुढ गठबन्धनले समाधान गर्न नसक्ने सन्देश आम जनतालाई दिने प्रयास गरेका छन् । दैलेखमा पुगेर ओलीले वर्तमान सरकार रहेसम्म मुलुकमा विकास, निर्माणको कामले गति लिन नसक्ने दाबी गरेका थिए । अभियानका क्रममा ओलीका अभिव्यक्ति वर्तमान गठबन्धन सरकारको विकल्प खोज्ने कुरामा बढी केन्द्रित देखिन्छ ।

ओलीले राष्ट्रिय स्वाधिनता र स्वाभिमान इतिहासमै सबैभन्दा कमजोर बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् । वागलुङमा आयोजित सभामा उहाँले वर्तमान सरकारले राष्ट्रिय हितको संरक्षण गर्नै नसक्ने जिकिर गरेका थिए ।

सो क्रममा ओलीले भनेका थिए ‘यो सरकारले स्वाधीनता कमजोर पार्छ । राष्ट्रिय हितको रक्षा गर्न सक्दैन । विकासको काम एमालेको पालामा भएका थिए, अहिले ठप्प छ । तैपनि यो सरकार बसिरहेको छ । सरकार गरैजिम्मेवार भएर इमान नभएर बसेको छ । नत्र राजीनामा दिएर हिँड्नुपर्ने हो । यो सरकारमा बसिरहन लाज नलागेर कसरी बसेको छ ? अचम्म लागेको छ । देशको राजनीतिमा अस्थिरता र अराजकता बढेको छ ।’

ओलीले वर्तमान सरकारले छिमेकसँगको सम्बन्ध पनि बिगारेको आरोप लगाएका छन् । भारतको इसारामा वर्तमान सत्तारुढ गठबन्धन चलेको उसले चीनको सहयोग लिन डराएको ओलीको आरोप थियो । ओली उत्तरी छिमेकी मुलुक चीनको साथ लिएर फेरि सरकारमा आउन चाहन्छन् भन्ने सन्देश सो अभिव्यक्तिले दिन्छ ।

उनले भनेका छन्ः ‘अबका पोल्टिकल पार्टीहरूले पोल्टिक्स मात्रै गरेर हुँदैन । विकासका नेता हुनुपर्दछ । उनीहरूले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसरी विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ । अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ । चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ ।’

ओलीले पार्टीका नेताहरुलाई साथमा लिएर अभियानको क्रममा दिएको अभिव्यक्ति सरकारबिरुद्ध जनमत सृजना गर्ने र त्यसका परिचालन गरेर वर्तमान सरकार हटाउने कुरामा केन्द्रित देखिन्छ ।

उनले जनतामाझ अपिल गर्दै भनेको छन्ः ‘वर्तमान सरकार रहेसम्म संकटमा रहेको मुलुकको अर्थतन्त्रमा सुधार आउँदैन, विकास, निर्माणको कामले गति लिन सक्दैन ।’

ओलीले वर्तमान सरकारले देशलाई इतिहासकै कमजोर अवस्थामा पु¥याएको आरोप लगाउँदै त्यसबाट मुक्त हुन पनि एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताएका छन् ।

‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुषखोरी, कमिसनतन्त्रको जालोले छोपेको छ ।’ उनले अगाडि भने, ‘देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले ल्याएको हो ।’

हुनतः अध्यक्ष ओलीको देशदौडाहालाई चीनका नेता माओको ‘लङ मार्च’ सँग तुलना गर्नेहरु पनि नभएका होइनन् । खासमा ओली भने पार्टीको सो १९ दिने समृद्धिका लागि संकल्प यात्रालाई सरकारको विकल्प खोज्ने अस्त्रको रुपमा प्रयोग गर्न चाहन्छन् । ओलीले अभियानका क्रममा सरकार बिरुद्ध जनमत सृजना गर्नका लागि वर्तमान सरकार आफैँ ढल्ने अवस्था पुगेको समेत बताएका छन् ।

अवश्य पनि ओलीले आफूले सरकारको नेतृत्व पाएको बेला ‘समृद्ध नेपालः सुःखी नेपाली’ को परिकल्पना अघि सारेका हुन् । उनले भारतसँगको नाकाबन्दीको सामना गरेर, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्शामा समेटेर आफूलाई राष्ट्रवादी नेताको पहिचान बनाउने प्रयास पनि गरेकै हुन् । तर वर्तमान अवस्थामा ओलीका यी प्रयासले मात्रै उनलाई सत्ताको बाघडोर सुम्पने अवस्था छैन । सत्तारुढ गठबन्धनसँग स्पष्ट बहुमत छ । तर पनि जनता गठबन्धन सरकारसँग असन्तुष्ट नै छन् । अर्थात सरकारले नागरिकलाई गरेको प्रतिवद्धताअनुसारका कामहरु व्यवहारतः देखाउन सकेको छैन । पार्टीको पक्षमा जनमत पारेर सत्तारोहण गर्ने ओलीको प्रयासलाई सत्तारुढ गठबन्धन दल भित्रैबाट साथ दिएमात्रै पूरा हुने देखिन्छ । मुलुक अस्थिरतामा फसेको नेपाली राजनीतिलाई माथि उकास्ने अवसरको खोजिमा छ । यस्तो बेलामा ओलीको फेरि सत्तारोहण गर्ने अभिलाषा पूरा होला वा नहोला । त्यो भने हेर्न बाँकि नै छ । एमालेको मध्यपहाडी यात्रा चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);