काठमाडौं, १९ मंसिर । नेपाल प्रहरी साइबर ब्युरोले वैदेशिक रोजगारमा रहेका नेपालीहरू ठगिने क्रम बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
विदेशबाट रकम पठाउने क्रममा नेपालीहरू ठगिएको भन्दै ब्युरोले सचेत गराएको हो । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झुटा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको ब्यूरोको भनाई छ ।
वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा साइबरजन्य ठगीमा फस्ने गरेको पाइएको छ ।
विदेशमा दुःख–परिश्रम गरी कमाएको रकम फ्रड–स्क्याम रकम मा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनुपर्ने अवस्था सिर्जना हुने प्रहरीको भनाई छ । त्यसैले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्यूरोले अनुरोध गरेको छ ।