काठमाडौं, ७ मंसिर ||
लामो समयदेखि नेपालको व्यापार घाटा निरन्तर बढी रहेकोबेला सेवा क्षेत्रले पनि त्यसलाई पच्छ्याइ रहेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को तीन महिनामा नेपालको सेवा क्षेत्र २९ अर्बले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको साउन, भदौ र असोजमा नेपालको सेवा क्षेत्र २९ अर्बले घाटामा रहेको हो । नेपालले सेवा क्षेत्रमार्फत ५३ खर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ । यसमा विभिन्न सेवाबाट ३२ अर्ब ९३ करोड र पर्यटन क्षेत्रबाट मात्रै सरकारले १७ अर्ब आम्दानी गरेको छ । तर, यसै तीन महिनाको अवधिमा सेवा क्षेत्रमार्फत ८२ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ । सबैभन्दा बढी विदेश भ्रमणमा जानेबाट ५१ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, विदेश पढ्न जानेबाट ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशीएपछि तीन महिनामा सेवा क्षेत्र २९ अर्ब ५६ करोड रुपैयाँले घाटामा रहेको हो । गत आर्थिक वर्ष ०७९÷०८० मा नेपालले सेवा क्षेत्रमा ८३ अर्बको घाटा बेहोरेको तथ्यांक छ । गत वर्ष सेवातर्फको पर्यटन क्षेत्रबाट ६१ सहित सेवा क्षेत्रबाट एक अर्ब ८८ अर्ब आम्दानी गरेको थियो । तर त्यही अवधिमा सेवा क्षेत्रमार्फत देशले दुई खर्ब ७२ अर्ब गुमाएको थियो । सबैभन्दा बढी भ्रमणमा जानेबाट एक खर्ब ४४ अर्ब रुपैयाँ तथा पढ्न जानेबाट एक खर्ब रुपैयाँ बाहिरिएको थियो । यसरी एक वर्षमा नेपालको सेवा क्षेत्र ८३ अर्ब ८४ करोडले घाटामा रहेको हो । ०००




