चिसोले कठ्याङ्ग्रिए जाजरकोटका भुकम्प पीडित | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

चिसोले कठ्याङ्ग्रिए जाजरकोटका भुकम्प पीडित

काठमाडौं, मंसिर ६ ||
गत कार्तिक १७ गते गएको भुकम्पमा परि घरबारबिहिन जाजरकोटबासी चिसोमा कठ्याङ्ग्रिएर रात काट्न बाध्य छन् । भुकम्पले घर भत्किएकाले उनीहरु खुल्ला स्थानमा त्रिपालमुनि बसिरहेका छन् । दिउँसो घाम लाग्दा जसोतसो कटेपनि रातमा भने कठ्याङ्ग्रिएर मुश्किलले रात काट्न बाध्य छन् । जाजरकोटको भेरी नगरपालिका १ रिम्नकी दिपा रानाको वास अहिले त्रिपाल मुनि छ । भुकम्पले घर भत्केको छ ।भुकम्पबाट घाइते रानाका श्रीमान् रत्नबहादुर रानाको सुर्खेतमा उपचार भइरहेको छ । १४ बर्षीय जेठा छोरा सुरेन्द्र राना पनि घरले थिच्दा घाइते भए । छोराको अवस्था सामान्य भएपनि रत्नबहादुरकोे भने अझै उपचार भइरहेको छ । अहिले दिपाको बास दुई छोरा र दुधे छोरीसँगै घर नजिकै त्रिपालमुनि छ । घामलाग्ने भएकाले जसोजतो दिन काटेपनि चिसोले गर्दा रात काट्नै मुस्किल छ । दिपा मात्रै होइन जाजरकोटका अधिकांश भुकम्प पीडितहरुको दैनिकी यस्तै छ । भेरी तीन स्याँलाकी सितली बिकमा दम समस्या छ । चिसोले गर्दा मुख फुलेको र हातखुट्टा सुन्निएको छ । दुई छोरा मध्ये कान्छा छोरा परिवार सहित भारत बस्छन् भने जेठा पनि नोकरीकै खोजीमा भारतमै छन् । १८ बर्ष अगाडि श्रीमान् बितेपछि एक्लै बसिरहेकी सितली बिकको घर बस्नै नसक्ने गरी धाजा फाटेर चर्केको छ । दमले गर्दा हिड्न नसक्ने बिकलाई त्रिपालमुनि चिसोले सास फेर्नै मुस्किल हुन्छ । त्रिपाल मुनिको बासहुँदा धेरैलाई चिसो लागेको छ । अझै बच्चाहरुमा झाडा पखला लाग्ने, ज्वरो आउँने, टाउको दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएका छन् । भुकम्पका कारण अधिकांश घर बस्न योग्य नै छैनन् । घर भित्र बस्ने अवस्था नभएपछि सबैको त्रिपालमुनिकै बास छ । चिसो दिनप्रतिदिन बढ्दै गएको कारण भुकम्पबाट बचेकाहरुमा चिसोले गर्दा मरिने पो हो कि भन्ने डर देखिन्छ । अझै दिर्घ रोगी र बालबच्चाहरु अवस्था चिसोले गर्दा चिन्ताजनक छ ।

Leave a Reply