अमेरिकामा धेरै सरकारी सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

अमेरिकामा धेरै सरकारी सेवा बन्द

एजेन्सी, ६ माघ । अमेरिकी माथिल्लो सदन सिनेटबाट सरकारको खर्चसम्बन्धी विधेयक पारित हुन नसक्दा धेरै सरकारी सेवा बन्द हुने भएको छ । विधेयक अनुमोदन भएको भए संघीय निकायहरुलाई उपलब्ध हुने खर्च एक महिनासम्मका लागि विस्तार गर्न सकिने थियो ।

फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक थियो । तर आप्रवासन र सीमा सुरक्षा जस्ता विषयमा चर्को विवाद भएपछि विधेक पारित हुन सकेन ।

अब संसदले मार्च महिनासम्ममा त्यसको स्थानमा विकल्प खोज्नुपर्नेछ । ह्वाइट हाउस र संसदको दुवै सदनमा रिपब्लिकनहरुको नियन्त्रण रहँदासमेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो ।

पछिल्लोपटक सन् २०१३ मा पनि सरकारी निकाय खर्चविहीन भएर १६ दिनसम्म कामकाज ठप्प भएको थियो । राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरुले राजनीतिक स्वार्थ हेरेको आरोप लगाएको छ ।

केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरुलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्रयाटहरुको माग विवादको मुख्य विषय रहँदै आएको छ । त्यस्ता आप्रवासीको संख्या ७ लाख छ ।

पूर्व राष्ट्रपति बराक ओबामाको पालामा ल्याइएको कार्यक्रम अन्तर्गत उनीहरुलाई अस्थायी कानूनी मान्यता दिइएको थियो । सिनेटको नतिजापछि ह्वाइट हाउसले राष्ट्रिय सुरक्षा र जोखिममा रहेका केटाकेटीको हीतभन्दा राजनीतिलाई प्राथमिकता दिएको आरोप डेमोक्र्याटहरुमाथि लगाएको छ ।

सिनेटका रिपब्लिकन नेता मिच म्याककोनलले विधेयकमा रहेका धेरै विषयमा सहमति भएपनि डेमोक्रयाटहरुले अवैधानिक आप्रवासनसम्बन्धी असम्बन्धित मुद्दा थप्दा विधेयक पारित हुन नसकेको टिप्पणी गरेका छन् । तर सिनेटका डेमोक्र्याटिक नेता चक सुमरले भने धेरै रिपब्लिकनले समेत विधेयकको विरोध गरेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);