काठमाडौं,१ मंसिर । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजदेखि सुरू भएको छ । मुख्य विधि अन्तर्गत पहिलो दिन आजको विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ।
दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको बन्दोवस्त एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । छठको पहिलो दिन व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी व्रत वस्न थाल्दछन् । दोस्रो दिन खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन् ।
यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । तेस्रो दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री र अन्नबाहेक फलफूल लगायतकाप्रसाद सहितको अर्घ अस्ताउँदो सुर्यलाई चढाइन्छ । पर्वको चौथो तथा अन्तिम दिन पार्वण गरिन्छ । यस दिन बिहान उदाउदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सकिन्छ ।