काठमाडौं,२१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत गत शुक्रबारको भूकम्पले पु¥याएको क्षतिको स्थलगत निरीक्षणका क्रममा प्रभावित क्षेत्र पुग्नु भएको हो ।
उहाँले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । पीडित घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने आश्वासन दिनुभएको छ ।
आफुले सरकारलाई अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने भन्दै राष्ट्रपति पौडेलले पीडितहरुलाई सान्त्वना दिनुभएको छ । त्यसक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ । भने घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठबिसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनुहुने छ ।
भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गर्नुभएको थियो । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापतिलगायतको टोली सहभागी छ ।