काठमाडौं, २० कात्तिक । कागजमा ल्याप्चे लगाएर सामाजिक अभियन्ता तारा बरालसँग बिहे गर्ने सहमति जनाएका पूर्वएआईजी रणबहादुर चन्दले बोली फेरेका छन् । चन्द र बरालले गत शुक्रबार संयुक्त रुपमा पछि बिहे गर्ने सहमति भएको कागज सार्वजनिक गरेका थिए । त्यसको एक दिन पनि नबित्दै चन्दले सामाजिक सञ्जालमार्फत उक्त कागजको कुनै वैधानिकता नभएको उल्लेख गरेका छन् ।
आफूलाई झुक्काएर अर्कै व्यहोरा लेखिएको पनि उनको दाबी छ । मिडियाले तारालाई विभिन्न आरोप लगाएपछि त्यसको खण्डन हुने डकुमेन्ट बनाउने मात्र भनेको थियो भन्दै उनले लेखेका छन्,“सञ्जय,तारा र त्यो लेख्ने वकिलले लेखेर साक्षीमा मेरो नाम राखेको, जब कि मैले त्यो डकुमेन्ट लेखेको पनि होइन । अनि त्यो कुनै लिगल डकुमेन्छ पनि होइन् ।”
लगातार स्टाटस पोस्ट गर्र्दै चन्दले तारासँग विवाह गर्ने योजना नभएको पनि बताएका छन् । सामाजिक सञ्जालमा लेख्दैमा विवाह नहुने पनि उनको तर्क छ । चन्द र बराल द्धयको हस्ताक्षरसहितको कागजमा विवाह गर्ने निर्णयमा पुगेको लेखिएको छ ।





