बैतडीमा बढ्यो कांग्रेस अधिवेशनको सरगर्मी, सभापतिका लागि एक दर्जन नेताको नाम चर्चा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बैतडीमा बढ्यो कांग्रेस अधिवेशनको सरगर्मी, सभापतिका लागि एक दर्जन नेताको नाम चर्चा

बैतडी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया सुरू भएसँगै बैतडीमा यसको सरगर्मी बढेको छ ।  १० वटै पालिकाका कार्यसमितिहरुलाई विधान, नियमावली र निर्देशिकाको प्रशिक्षण दिइएको छ भने वडा अधिवेशनका लागि मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री दिएर पालिकाका ८४ वटै वडामा खटाइएको छ ।

बैतडीमा वडा अधिवेशन २१ भदौमा हुने छ । २७ भदौमा पालिकाको अधिवेशन हुनेछ भने दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेकोमा (क) र (ख)मा १ असोजमा क्षेत्रीय अधिवेशन हुनेछ । ५ असोजमा जिल्ला अधिवेशन सम्पन्न हुनेछ । सबै अधिवेशनका लागि अहिले सरगर्मी बढेको छ ।

१४औँ महाधिवेशन नजिक आउँदै गर्दा बैतडीमा नेतृत्व कसले लिने भन्ने विषयमा चर्चा हुन थालेको छ । बैतडीमा पार्टी सभापतिका लागि एक दर्जन नेताले आकांक्षा राखेको जिल्ला सचिव प्रेमबहादुर चन्दले बताए । उनले भने, ‘जिल्लामा महाधिवेशनको चहलपहल सुरु भइसकेको अवस्थामा नेताहरु नेतृत्वका लागि दाबी प्रस्तुत गर्न थालेका छन् ।’ बैतडीमा एक दर्जन नेताले सभापति बन्ने इच्छा देखाएको सचिव चन्दले बताए । उनले भने, ‘महाधिवेशनको संशोधित कार्यतालिका आएपछि चहलपहल बढेको छ ।

नेपाली कांग्रेसको सभापतिमा वर्तमान सभापति नरेन्द्रसिंह थापासहित नौजना इच्छुक देखिएका छन् । पार्टीका पूर्वसभापति शिवराज भट्टले पनि सभापतिका लागि दावी प्रस्तुत गर्ने भएका छन् । लामो समयदेखि पार्टीमा रहेकोले पार्टीमा सभापतिको दाबेदारी प्रस्तुत गर्ने उनी निकट नेताहरुले बताएका छन् । यस्तै वर्तमान उपसभापति चतुरबहादुर चन्द पनि सभापतिको लागि दौडधुपमा लागेका छन् । पार्टीलाई गति दिन चन्दले सभापतिको दावी प्रस्तुत गरेको उनी निकट नेताहरुले बताएका छन् । 

यस्तै वर्तमान सचिव वीरबहादुर विष्टले सभापति बन्ने इच्छा देखाएका छन् । एक कार्यकाल पार्टीको सचिव भइसकेकाले अब सभापतिमा आफ्नो दावी रहेको उनले बताए । वर्तमान कोषाध्यक्ष रमेश पाण्डेय, पार्टीका पूर्वउपसभापति हरिसिंह धामी, महासमिति सदस्य केशवबहादुर चन्द, महाधिवेशन प्रतिनिधि दीपकबहादुर बम र पूर्वउपसभापति प्रतापसिंह ठगुन्नाले पनि सभापति बन्ने इच्छा देखाएको जिल्ला सचिव चन्दले जानकारी दिए । 

पार्टीको महाधिवेशन नजिकएसँगै नेता कार्यकर्ताहरुको दौडधुप सुरु भइसकेको छ । पार्टीको जिल्ला सभापति बन्न इच्छुक केही व्यक्तिले वडाको अधिवेशनपछि मात्रै दावी प्रस्तुत गर्ने बताएका छन् । महासमिति सदस्य उत्तर बहादुर ऐरले भने, ‘अहिले केही साथीहरुले दावी गरिरहनुभएको छ । त्यो स्वाभाविक पनि हो । तर केही व्यक्ति वडाको अधिवेशन सम्पन्न भएपछि दावी आउँछ ।

बैतडीमा धेरै जनाले सभापतिका लागि आकांक्षा देखाएपनि अन्तिममा दुई खेमाका दुईजना उम्मेदवार हुने आंकलन गरिएको छ । संस्थापन पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा हुन सक्ने कांग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् । यसअघि १३औँ अधिवेशनका बेलासमेत धेरै आकांक्षीका रूपमा धेरै नेताहरुको नाम चर्चामा आए पनि वर्तमान सभापति नरेन्द्रसिंह थापा सर्वसम्मतीले सभापतिमा चयन भएका थिए भने अन्य पदहरुमा चुनाव भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);