काठमाण्डौ, ११ कार्तिक
सामूहिक हत्याको आशंका गरिएको मुगुको घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरीको विशेष टोली पुगेको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका–५ मुन्दु गाउँमा आमा र तीन जना छोराछोरी मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली खटाएको हो ।
शनिबार कुकुरसहितको विशेष टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
प्रहरीले शुक्रबारदेखि सिल गरेको घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट गएको कुकुरसहितको टोलीले मुचुल्का उठाएर शव पोस्टमर्टमका लागि पठाएको बताइएको छ ।
शुक्रबार बिहान मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, सात वर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहर घरमै मृत भेटिएपछि अनुसन्धान थालिएको हो ।
उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीको प्रारम्भिीक अनुसन्धानले देखाएको छ । वैदेशिक रोजगारीका लागि कतार गएका श्रीदेवीका श्रीमान दीपक बोहोरा घटनाबारे थाहा पाएपछि नेपाल फर्किएको बताइएको छ ।