आज बडा दशैं,मान्यजनको हातबाट टीका र जमरा लगाएर अशिर्वाद थाप्दै | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

आज बडा दशैं,मान्यजनको हातबाट टीका र जमरा लगाएर अशिर्वाद थाप्दै

काठमाडौं, ७ कात्तिक । आज आश्विन शुक्ल दशमी बडा दशैंको मुख्य दिन मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाएर हर्षाेल्लासपूर्वक मनाइँदै छ । विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउने गरिन्छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइन्छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ ।

नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो । त्रेता युगमा यसैदिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);