सत्यनारायण मानन्धर ||
बुटवल, १८ असोज ||
बुटवलको दीपनगर स्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा पुननिर्माण गरिएको शुद्ध पिउने पानी टंकीको उद्घाटन भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल लायनेस क्लवको करीव ११ लाख रुपैयाको लागतमा पुननिर्माण भएको खानेपानी टंकीको बिहीबार एक कार्यक्रमकाबीच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष तथा समाज सेवी जिवन प्रसाद ओझाले उद्घाटन गरेका हुन् ।
शुद्ध पिउने पानी टंकीको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ओझाले शुद्ध पिउने पानी टंकीको निर्माणले अस्पतालमा आउने बिरामी र विरामीहरूका आफन्तहरूले सधैभरी शुद्ध खानेपानी पिउन सहज हुने विस्वास ब्यक्त गरे ।
आम्दा अस्पताल बुटवलबासीको मात्र नभएर समग्र देशकै गहना भएको भन्दै उनले अस्पतालको संरक्षणमा आफु निरन्तर लागिरहने बताए ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले बुटवल उद्योग वाणिज्य संघको सहकार्यमा निर्माण भएको आम्दा अस्पताललाई उद्योग बाणिज्य संघले पहिलेदेखिनै सहयोग गर्दै आईरहेको स्मरण गराउदै यसै सिलशिलालाई काम राख्दै आज यो अत्याधुनिक प्यूरीफाई सहितको पिउने पानी टंकी निर्माण गरिएको बताए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दीनेश प्रसाद श्रेष्ठ,महासचिब बिमलराज भट्टराई, टंकी निर्माण समितिका संयोजक बशन्तराज ढकाल,लगायतले अस्पतालमा निर्मित शुद्ध पिउने पानी टंकीले अस्पतालमा आउने बिरामी तथा उनका आफन्तहरुले सहजरुपमा शुद्ध पानी पिउन पाउने भन्दै यसको उचित संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।




