एजेन्सी, १७ असोज । उत्तरी इटालीको भेनिस नजिक मंगलबार साँझ एउटा बस सडक दुर्घटनाको शिकार भएको छ । यस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । सोही क्रममा ४० जना घाइते भएको अनुमान गरिएको छ । उक्त बसमा ठूलो संख्यामा पर्यटक सवार रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
भेनिसका मेयर लुइगी ब्रुगनारोले घटनालाई भयानक त्रासदी भनेका छन् । उनले आफ्नो एक्स ह्यान्डलमा घटनाप्रति दुःख व्यक्त गर्दै लेखे, “यो एक सर्वनाशपूर्ण दृश्य हो। मसँग शब्दहरू छैनन्।“
समाचार एजेन्सीहरूका अनुसार मेस्त्रे जिल्लामा एउटा बस सडकबाट खसेर रेलवे लाइन नजिकै खसेको थियो। सडकमा खसेपछि कोचमा आगो लागेको थियो । यद्यपी दुर्घटनाको कारणबारे यकिन जानकारी भने आउन सकेको छैन । यस घटनाको छानबिन गर्न निर्देशन दिइएको छ ।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले आफ्नो एक्स ह्यान्डलमा यस घटनाप्रति दुःख व्यक्त गर्दै पोस्ट गरेकी छिन् । “मेस्त्रीमा भएको गम्भीर दुर्घटनाप्रति म मेरो र सम्पूर्ण सरकारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु।“ उनले थपे, “मेरो विचार पीडितहरू र उनीहरूका परिवार र साथीहरूसँग छ । म मेयर लुइगी ब्रुगनारो र मन्त्री (आन्तरिक) माटेओ पियानटेडोसीसँग यस त्रासदीको अपडेटको लागि नजिकको सम्पर्कमा छु।“