Our Network

माघ १० २०७८, सोमबार

मदिराले नै ‘च्यालेन्ज’ गर्छ ज्यानलाई !

wine 1

काठमाडौं,४ माघ । आज मौसमले च्यालेन्ज गर्यो,’ मदिराप्रेमीमाझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ । तर चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ ।

चिकित्सकको अनुभवमा विपन्न समुदायमा चिसो हटाउने नाममा बढी मदिरा खाएर बाहिर सुत्दा धेरैको ज्यान गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले चिसोमा मदिराले तत्कालका लागि न्यानो महसुस गराए पनि शरीरभित्रको तापक्रम हिट लस घटाउने बताए ।

‘मदिराको असरले शरीरभित्रको तातोलाई छालातिर फाल्ने हुनाले बाहिर क्षणिक तातो भएजस्तो हुन्छ । तर भित्रको तातो घटाउँछ । चिसोमा बढी मदिरा सेवन गर्दा रगतको थेग्ला जमेर तत्काल हृदयघात र मतिष्कघात हुनसक्छ ।
मानिसको शरीरको रगत र भित्री भाग कोर ट्याम्प्रेचर तातो हुन्छ । मदिराको प्रयोग गर्दा रक्तसञ्चार बढ्दा मदिराले रगतमा भएको तातोलाई छालातिर फाल्छ । चिकित्सकको भाषामा यसलाई ‘भ्यासोडाइलेसन’ भनिन्छ । सामान्य अवस्थामा बाहिर चिसो हुँदा शरीरले नशा खुम्च्याएर तातो जोगाउने भएकाले जाडोसँग बढी प्रतिरक्षा गर्न सक्छ । शरीरको नशा साँघुरो हुनु भित्री तातो जोगाउनकै लागि हो ।
चिकित्सकका अनुसार मदिराले तत्कालका लागि रगतको सञ्चालन बढाउने भएकाले रगतका नशा ब्लड भेइसल फराकिलो बनाउँछ । ‘मदिराको असरले शरीरभित्रको तातोलाई छालातिर फाल्ने हुनाले बाहिर क्षणिक तातो भएजस्तो हुन्छ,’ डा।अनिल भन्छन्, ‘तर भित्रको तातो घटाउँछ ।’ उनले चिसोमा बढी मदिरा सेवन गर्दा रगतको थेग्ला जमेर तत्काल हृदयघात र मतिष्कघात हुनसक्ने बताए ।

विभिन्न अध्ययनअनुसार नेपालमा जनसंख्याको १७ प्रतिशतले मदिरा सेवन गर्छन् । मदिराको नशामा तातेको महसुस गरेपछि लुगा फाल्ने र खुला आकाश वा अझै चिसोमा रहँदा बिस्तारै शरीरको सतहको भागसमेत सेलाउँछ । ‘भित्र हिट लस भइसकेको हुन्छ, बाहिरको चिसो त केहीबेरमै सेलाउँछ,’ डा. अनिलले भने, ‘यस्तो अवस्थामा शरीर पूरै चिसो हुने हाइपोथर्मिया भएर ज्यानै जानसक्छ ।’ उनका अनुसार विपन्न समुदायका मानिस सुतेकै ठाउँमा मृत्यु हुने घटनामा मदिरा नै प्रमुख कारक बन्ने गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले राति अबेरसम्म भट्टीमा बसेर धेरै मदिरा सेवन गर्ने मानिसको सुतेकै अवस्थामा मृत्यु हुने घटना धेरै भएको बताए । उनका अनुसार मदिराको नशामा होस पनि नभई खुला आकाशमा लड्यो भने लडेको लड्यै ज्यान जान सक्छ ।

डा. मरासिनीका अनुसार मदिराले चिसो बनाउँदा शरीर तात्न अतिरिक्त क्यालोरी आवश्यक पर्छ । ‘रिजर्भ क्यालोरी पनि नभएका, कुपोषित मान्छेको ज्यान जाने सम्भावना बढी हुन्छ,’ उनले भने । चिकित्सकका अनुसार खुला आकाशमुनि अत्यधिक चिसोको समयमा केही घन्टा रहँदा ९६ डिग्री फरेनहाइटभन्दा कम हुनासाथ मानिस बेहोस हुन्छ भने ९४ डिग्रीतिर पुग्दा त रक्तसञ्चार बन्द हुनसक्छ ।

होसै गुम्ने गरी खाएको छ र कोठाभित्रै पनि राति ओढेको लुगा हट्यो भने हाइपोथर्मियामा जान सक्ने डा. मरासिनी बताउँछन् । उनले भने, ‘सिरक तानेर ओड्ने होस हुन्न, चिसिँदै गएर ज्यानै जानसक्छ ।’
मदिरा सेवनपछि हिटर र एसीमा बस्ने वा कुनै न्यानो कपडा लगाउने हो भने असर कम हुने डा। अनिल बताउँछन् । उनले भने, ‘चिसोमा सकेसम्म रक्सी खानै हुन्न, नसके पनि गर्मी मौसममा भन्दा कम खानुपर्छ ।’

डा. अनिलका अनुसार चिसोको समयमा अत्यधिक मदिरा सेवन गर्नु हृदयघात र मतिष्कघातको एउटा कारण हो । मदिरा सेवनको अवस्थामा रगत जम्ने प्रवृत्ति क्लटिङ टेन्डेन्सी पनि बढी हुन्छ । अझै थोरै समयको अन्तरमा धेरै मदिरा सेवन बिन्च ड्रिकिङ को अवस्थामा यो सम्भावना अझै बढी हुन्छ ।
यस्तो अवस्थामा बढी मदिरा प्रयोगले रगत जमेर मुटु र मतिष्कका धमनी थुनिएर तत्काल मृत्युसमेत हुनसक्छ । गर्मीको तुलनामा चिसोमा रक्तचाप बढी हुन्छ । त्यसमा पनि मदिराको प्रयोग गर्दा रक्तचाप अझै बढी हुन्छ । ‘उच्च रक्तचाप, सुगर, कोलेस्ट्रोरलजस्ता समस्या भएकाका मानिसको रगतका नशा कमजोर हुन्छन् । त्यस्तो अवस्थामा रगतको चाप बढ्दा नशा फुटेर हृदयघात एवं मतिष्कघात हुने जोखिम बढी हुन्छ,’ डा. अनिलले भने ।

सरकारले नसर्ने रोग र मृत्युको प्रमुख कारणमध्येको एक मदिराको प्रयोग नियन्त्रण गर्न गत फागुनमा नीति तयार पारेको छ । मन्त्रिपरिषद्बाट पारित नीतिअनुसार ऐन नबन्दा यसको नियन्त्रण हुन सकेको छैन। आजको नागरिक दैनिकमा यस्तो खवर छ ।