काठमाडौँ, ७ असोज । खेलाडी विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो ।
जबरजस्ती करणीको मुद्दामा यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ सराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग झिकाउन आदेश दिइएको थियो ।
आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति प्रमाणित हुने गरी कागजात समेत माग गरिएको छ । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । सोही मुद्दाको कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टिममा परे पनि उनी चीन जाने विषय टुङ्गो लाग्न सकेको छैन ।