किन खेलाडी निराश हुँदै बिदेशिन बाध्य हुन्छन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

किन खेलाडी निराश हुँदै बिदेशिन बाध्य हुन्छन् ?

काठमाडौं, २ माघ । देशका गहना मानिने खेलाडीहरु आजभोलि धेरै विदेसिन्छन् । अन्तर्राष्ट्रिय जगतमा मुलुकको नाम चिनाउन उनीहरूले रगत र पसिना बगाएका हुन्छन् । राज्यले सामान्य जीविकोपार्जनको प्रबन्धसमेत नगरिदिँदा खेलकुद क्षेत्रबाट विस्थापित हुनुपरेको खेलाडीहरुको दुखेसो राज्यले सुनेपनि नसुनेजस्तो गरिरहेको छ ।

कुनै पनि खेलाडी आफ्नो भविष्य सुनिश्चित पार्ने सपनासहित खेल क्षेत्रमा लाग्छ । त्यो सपना पूरा गर्न उसले वर्षौंसम्म दिनरात नभनी पसिना बगाउँछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उसले ख्याती पनि कमाउँछ, मुलुकलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँछ । तर, राज्यबाट त्यही खेलाडीले भविष्य सुनिश्चित गर्ने दरिलो आधार प्राप्त गर्न सक्दैन । बरु खेलाडीले राष्ट्रलाई दिएको बलिदान र त्यागको जस सम्बन्धित खेल पदाधिकारीले लिन्छन् । आफ्नो मिहिनेतको कदर नभएपछि खेलाडी निराश हुँदै खेल क्षेत्रबाट पलायन वा बिदेसिन बाध्य भएका हुन् । यही नेपाली खेल क्षेत्र र खेलाडीको वास्तविकता हो ।

एक दशक एथलेटिक्स क्षेत्रमा सक्रिय ट्याक एन्ड फिल्डकी धाविका केशरी चौधरी हालैमात्र रोजगारीको सिलसिलामा दुबई हानिइन् । नेपाली ब्याडमिन्टनका प्रतिभाशाली र प्रतिष्ठित खेलाडी पशुपति पनेरू सन् २००८ मा अमेरिका गएपछि फर्किएका छैनन् । हेडिङ किङको उपमा पाएका फुटबलर देवनारायण चौधरीले पनि अमेरिकालाई आफ्नो दोस्रो घर बनाए ।

नेपालका लागि कम समयमा अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने स्ट्राइकर दीपक अमात्य पनि अमेरिका नै भासिए । यस्तै फुटबलकै सन्तोष साहुखल, प्रलय राजभण्डारी विदेशिन बाध्य बने । करातेका पूर्वप्रमुख प्रशिक्षक थानेश्वर राई पनि नेपालमा भविष्य नदेखेर अमेरिका हानिए । तेक्वान्दोका चर्चित खेलाडी सविता राजभण्डारी, रेणुका रानामगर, मनिता शाहीले नेपालमा भविष्य देखेनन् । न्युजिल्यान्डमा भएको आइसिसी यू–१९ विश्वकपअन्तर्गत प्ले च्याम्पियनसिपको उपविजेता उपाधि जिताउने क्रिकेटर कनिष्क चौलागाईँ पनि विदेशिए ।

युवा पुस्तामा चलेका एथलेटिक्स तिलकराम थारू सन् २०१४ मा नेपालको प्रतिनिधित्व गर्दै दक्षिण कोरियाको इन्चोन सहर पुगेपछि उतै लुके । सन् २००२ को बुसान एसियाडमा नेपालबाट भाग लिन गएका बक्सिरहरु रमेशदास श्रेष्ठ, रमेश श्रेष्ठ, कुमार अधिकारी, सुवर्ण सापकोटा, तेजबहादुर राना, अर्जुन तामाङ र रामचन्द्र थापामगर प्रतिस्पर्धापछि बुसानसहरमै रमाए ।

खेलाडी मात्र होइन, पदाधिकारीसमेत कोरियामै भासिएका छन् । सन् २०१२ मा मास्टर्स इन्स्ट्रक्सर्ट कोर्स गर्नेक्रममा नेपालका पदाधिकारी खम्बा राई, राजेन्द्र शाही र राजकुमार पाण्डे नेपाल फर्किएनन् । यसरी खेलाडी विदेशिनु वा उतै लुक्नुलाई जिम्मेवार निकायले खासै गम्भीर रुपमा लिएको छैन ।
खेलाडीले नेपाल छाड्नुको मुख्य कारण घरेलु खेलकुद व्यावसायिक नहुनु नै हो । अर्को अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपालको अवस्था दयनीय हुनु पनि खेलाडीहरू बाहिरनुको अर्को कारण भएको खेल विश्लेषकहरू बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);