दार्चुला, भाद्र २५
बासुदेव वडु
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ का वडा सचिव मृत भेटिएका छन् । शैल्यशिखर नगरपालिका २ रौतेउडाका २८ वर्षीय खेमराज कपाडि बैतडिको दोगडाकेदार गाउँपालिका ४ र ५ को सिमाना सल्सेनामा मृत भेटिएका हुन् । आइतबार विहान ४ बजे घरबाट डडेलधुराका लागि से४प३४७५ नं को मोटरसाइकलमा हिडेका कपाडिको शव र मोटरसाइकल सोमबार भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
मृतकको फोन सम्पर्क नभएपछि खोजी गर्दै जाँदा इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुला र इलाका प्रहरी कार्यालय पाटन बैतडीको टोलीले मृतक कपाडिको शव सडकबाट अन्दाजी २०० मिटर तल र मोटरसाइकल सडकबाट अन्दाजी १५० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
घटना स्थलको कानुनी प्रक्रिया पूरा गरि मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल दार्चुला लगिएको छ । घटनाबारे विस्तृत विवरण प्राप्त नभएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।




