काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन पहल गर्ने बताएका छन् । फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुगेका साहले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
“काठमाडौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछभने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ”–उनले लेखेका छन्, “यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ ।”
बालेनको अनुसार त्यो बाहेक खेलाडि र तल्लोतहमा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै महानगरले गरेको छ ।
श्रीलंकाको रंगशाला पनि नेपालको त्रिविको क्रिकेट स्टेडियम जस्तै रहेको उनले बताएका छन् । केहि प्याराफिट र अलि बढि सुविधा भएको उनको भनाइ छ । बालेनले नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा बन्न सक्ने पनि अनुमान गरेका छन् ।