काठमाडौं,१५ भदौ । छन्द कविताहरू मीठो शैलीमा वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं क्यान्सर रोगसँग लडिरहेकी छिन् । उनलाई घाँटीको क्यान्सर भएको उनका श्रीमान मुुरारी गुरागाईले जानकारी दिएका हुुन् ।
छन्द कविता वाचिकाको परिचय बनाएकी गुरागाईंको अहिले अमेरिकाको युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचार भइरहेको छ । गुरागाईको अनुसार बिहीबार उनको थाइराइडको शल्यक्रिया भएको छ ।
सरुका श्रीमान् मुरारीले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि अपील गरेका छन् । उनले गो फन्डमी मार्फत रकम सहयोग गर्न आग्रह गरेका हुन् ।
“मेरी जीवनसङ्गीनी, बच्चाहरू (वर्ष ७ र २२ महिना) की आमा, यहाँहरूकै प्रिय रामायण वाचिका तथा छन्द कविता वाचिका सरू गुरागाईँ विगत एक वर्षदेखि हाडजोर्नीसम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेकी छिन् । यस्तो असहज र अकल्पनीय परिस्थिति जसको कारणले उनको अति प्रिय छन्दकविता वाचनको काम पूर्ण रूपमा रोक्किएको छ । शीघ्रातिशीघ्र पुर्ववत् अवस्थामा फर्किएर पुनः आफ्ना प्रस्तुतिहरू यहाँहरू समक्ष लिएर आउने हाम्रो अभिलाषा र यहाँहरूको अनुरोध पूरा गर्न हामी हजुरहरूसमक्ष सहयोगको अपील गर्नको निम्ति बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।”–सरुका श्रीमान गुरागाँइले लेखेका छन् ।
गुरागाईं दम्पत्तिका दुई सन्तान छन् । ७ वर्ष र २२ महिनाका दुई छोराहरु छन् । उनीहरुको घर इलाम हो । उनीहरु १५ महिनादेखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । सरुले अमेरिकाबाटै छन्द कविताका अडियोहरू बनाएर युट्यूवमा हाल्ने गर्दै आएकी थिइन् उनी बिरामी भएसँगै सम्पुर्ण काम ठप्प भएको छ ।