काठमाडौं । काठमाडौं महानगरपलिकाका मेयर बालेन्द्र शाहले चीन नजाने घाषणा गरेका छन् ।
चीनको निमन्त्रणामा ५ दिने चीन भ्रमणमा जान लागेका मेयर शाह पछिल्लो समय चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको नक्शामा नेपालको चुच्चे नक्शालाई नराखेको भन्दै नैतिकताका आधारमा चीन नजाने निर्णय गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
उनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम मानेको बताएका छन् ।
‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु,’ उनले लेखेका छन् ।