काठमाडौं, १३ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो जनैपूर्णिमा वा रक्षाबन्धन पर्व बिहीबार नै भएको प्रष्ट पारेको छ । बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन पर्व भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्पष्ट गरेको हो ।
बिहीबार पूर्णिमा तिथि थोरै मात्र रहेको भन्दै कतिपयले अघिल्लै दिन बुधबार मनाउनुपर्ने भनेपनि आम नागरिक अन्योलमा परेको भन्दै समितिले विज्ञप्ति निकालेर यसबारे प्रष्ट पारेको हो । धर्मशास्त्रको परम्पराअनुसार सूर्य उदय भएको तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले बिहीबार नै मनाउनुपर्ने जनाएको छ। विज्ञप्तिमा भदौ १४ गते बिहीबारपर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म संस्कृति र परम्परा अनुकुल रहेको भनिएको छ ।
साथै अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते राती ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षामन्त्रन गर्न नमिल्ले समितिको विज्ञप्तिमा उल्लेख छ । रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएकाकारण भोलिपल्ट अर्थात बिहीबार नै रक्षाबन्धन र जनैपूर्णिमा मनाउन उचित हुने समितिले जनाएको छ ।
यो वर्षको जस्तो अवस्था विस१९९४, २४,३१, ५५,६१,७१ र ७९ सालमा पनि परेको समितिले भनेको छ । यद्यपि आफ्नो शाखासूत्र परम्पराअनुसार पर्व मनाउन सबैलाई छुट रहेको पनि नेपाल पञ्चाङ्ग निर्णायक समिति बताएको छ ।