काठमाडौं । नेपाली कांग्रेसले धरानमा सामाजिक, धार्मिक, राजनीतिक सद्भावका लागि अपिल गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै नेपालीको भावना र चाहना विपरित धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने प्रष्ट पार्नुभएको छ ।
यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने सभापति देउवाको भनाइ छ । उहाँले परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै नभइ राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएको स्मरण गराउनुभएको छ ।
सभापति देउवाले नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपु¥याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न नहुने बताउनुभएको छ । कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दखल पु¥याउन उचित नहुने उहाँको भनाइ छ । सभापति देउवाले यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।
राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न उहाँले अपिल गर्नुभएको छ ।