कमल थापा नेतृत्वको राप्रपा नेपालको अबको मुख्य एजेण्डा राजसंस्था पुनःस्थापना | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

कमल थापा नेतृत्वको राप्रपा नेपालको अबको मुख्य एजेण्डा राजसंस्था पुनःस्थापना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनःस्थापना भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजसंस्था पुनः स्थापनाको एजेण्डा पार्टीले महत्वपूर्ण एजेण्डाको रुपमा अघि बढाउने बताउनु भयो । उहाँले विगतमा पार्टीको एजेण्डा राजासंस्था नरहेको भएपनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेण्डा हुने उल्लेख गर्नुभयो ।

उहाँले संघीय गणतन्त्रको नाउँमा हाल कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य भएपछि कायम गरिने राज्य व्यवस्थाको मुलभुत व्यवस्था जनतामा निहीत सार्वभौम सत्ता, राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार युक्त प्रधानमन्त्री, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, समावेशी र समानुपातिक मान्यता, उदार आर्थिक व्यवस्था र सुशासन हुने बताउनु भयो ।

अध्यक्ष थापाले संघीयता असफल मात्रै नभइ देशको निमित्त अभिशाप बन्न पुगेको बताउनु भयो । उहाँले छोटो अभ्यासको क्रममा संघीयता एवं प्रदेश स्तरीय संरचना अस्थिरता, अराजकता र भ्रष्टाचारको अखडा स्थापित भएको दाबी गर्नुभयो । उहाँले प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न नसकेकाले संघीयताको नाममा कायम रहेको प्रदेश स्तरीय संरचना तत्काल खारेज हुनुपर्ने बताउनु भयो ।

अध्यक्ष थापाले नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सम्पन्न प्रधानमन्त्रीय प्रणाली उपयुक्त हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);