बजेट अभावका कारण महाकाली नदीमा चार लेन पुल निर्माण पूरा नहुने | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

बजेट अभावका कारण महाकाली नदीमा चार लेन पुल निर्माण पूरा नहुने

पुष्कर भट्ट
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधिन चार लेन पुल निर्माण कार्य चौथो पटक थपिएको म्यादभित्र पनि पूरा नहुने भएको छ । मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि पर्याप्त बजेट प्राप्त नहुँदा निर्माण कार्य प्रभावित भएको हो ।

सरकारले उच्च प्राथमिकतामा राखेको आयोजनाका लागि चालु आर्थिक वर्षमा १८ करोड मात्र बजेट छुट्याएको छ ।

पुल निर्माण कम्पनीलाई गत आवकै रु २२ करोड रकम तिर्न रहेको चालु आवमा पुल योजनाका लागि रु १८ करोड मात्रै बजेट आएकोले यस वर्ष छुट्याएको बजेटबाट निर्माण कम्पनीलाई तिर्न पनि नपुग्ने भएपछि पुल निर्माणका अन्य कार्य अलपत्र पर्ने महाकाली पुल आयोजनाका इञ्जिनीयर दुर्गा दत्त अवस्थी बताउनुहुन्छ ।

महाकाली पुल आयोजनाका अनुसुार हालसम्म ९२ प्रतिशत भौतिक र ८८ प्रतिशत वित्तिय प्रगति भएको छ । पहुँच मार्गको गड्डाचौकीस्थित भन्सार कार्यालयको जग्गा अहिलेसम्म पुलको स्वामित्वमा आएको छैन ।

तीन वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता गरी २०७४ भदौमा तीन वर्षभित्र निर्माण पूरा गर्ने गरी कुमार सिएफइसी जेभीले निर्माण सुरु गरेको थियो । त्यसपछि अहिलेसम्म तीन पटक थपिएको म्यादभित्र पनि पूरा नभएपछि २०८० चैत १५ मा सक्ने गरी चौथो पटक म्याद थप भएको छ ।

नदीमा पुल निर्माण कार्य सकिए पनि दुबैतिरका तलाउ निर्माण र पहुँच मार्ग निर्माणका कार्य जारी राखिएका छन् । आइल्याण्ड सहितको कृत्रिम टापु निर्माण कार्यलाई निरन्तरता दिइएको छ । कञ्चनपुर जिल्लालाई त्रिदेशीय नाकाको रुपमा विकास गरि स्थानीय÷प्रादेशिक स्तरका साथै मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने उदेश्यका साथ माहाकाली नदीमा चार लेनको पुलको निर्माण शुरु भएको हो । ३४ पिल्लर र ३२ वटा सल्याप बनाएर निर्माण भएको पुल ८ सय मिटर लम्बाईको छ ।

महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले काम गरेकै पैसा नै भुक्तानी नहुँदा थप काम गर्न समस्या भएको बताए । उनले काम गरेको भुक्तानी नहुँदा निर्धारित समयमा नै काम सम्पन्न नहुने बताए ।

महाकालीपारिको बस्तीलाई यही पुलले सडक सञ्जालसँग जोडेको छ । विसं २०७४ भदौमा ठेक्का सम्झौता भएर काम सुरु भएको पुल निर्माणको काम २०७७ भदौमा सम्पन्न गर्ने भने पनि काम सम्पन्न नहुँदा म्याद थप गरिएको थियो । विसं २०८० चैतभित्र सबै काम सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभावका कारण आयोजनाको काम पछि धकेलिँदै गएको छ । दुई वर्ष अघि महाकाली नदीमा आएको बाढीले पुल सम्मको पहुँच मार्ग भत्काएपछि २०७८ फागुनमा डिजाइन संशोधन गरिएको थियो ।

महाकाली पुल निर्माण संगै पुलको दुवैतर्फ ९१ हेक्टर क्षेत्रफलमा चार वटा कृतिम तालहरु निर्माण गरिने हुदा यस स्थानमा आन्तरिक तथा वाह्रा पर्यटकहरुको आगमनले स्थानीय तथा प्रादेशिक स्तरको पर्यटन प्रवर्धनमा टेवा पुर्याउनका साथै महाकाली नदीको दाया दाया तटीय क्षेत्रहरुमा बसोबास गर्ने बाढीको उच्च जोखिममारहेका स्थानीय बासिन्दाहरुलाई राहत हुनुका साथै नदी नियन्त्रण कार्यमा दुरगामी सहयोग पुग्ने हुंदा नेपाल सरकारले महाकाली पुल आयोजनामा प्रयाप्त बजेट हाल्न जरुरी देखिन्छ ।

Leave a Reply