१८ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग प्रस्तावले असहज परिस्थिति नआउने जानकारी गराउनुभएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय, शीतल निवास जानुभएका प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीलाई महाभियोग प्रस्तावले निर्वाचन लगायतका काममा कुनै असर नपर्ने जानकारी गराउनुभएको हो ।
राष्ट्रपतिले प्रधानमन्त्री दाहालसँग प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र त्यसपछि उत्पन्न हुने राजनीतिक परिस्थितीबारे जिज्ञासा राख्नुभएको थियो । महाभियोगलले वैशाख ३१ को निर्वाचन प्रभावित हुन्छ कि भनेर राष्ट्रपतिले जिज्ञासा राखेपछि प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनलाई यसले कुनै असर नपर्ने भन्दै राष्ट्रपतिलाई विश्वस्त पार्नुभएको थियो ।
दाहालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएपछि राष्ट्रपति भण्डारीले सबै दल मिलेर राजनीतिक समस्याको समाधान निकाल्न सुझाव दिनुभएको छ ।