काठमाडौं । डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरुको मागप्रति ऐक्यवद्धता जनाएको छ ।
विश्व आदिवासी दिवसको अवसर पारेर बुधवार दिउँसो सो पार्टीका नेताहरुले काठमाडांैको माईतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरुले सरकारसँग राखेका मागप्रति ऐक्यवद्धता जनाएका हुन् । आफनो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि लड्ने भएकाले त्यसमा ऐक्यवद्धता जनाउन माइतीघर मण्डलामा भेला भएको पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताउनु भयो ।
उहाँले सञ्चारकर्मीमाझ भन्नुभयो, ‘आज २९ औं आदिवासी जनजाति दिवसको दिनमा हामी माईतीघर मण्डलामा जनमत पार्टीको तर्फबाट हामी ऐक्यवद्धता जनाउन हामी यहाँसम्म आइपुगेका छौं । खास गरेर जनमत पार्टीको जहाँसम्म सवाल छ । सुरुदेखिनै हाम्रो एजेण्डा चाहीँ आदिवासी, जनजाति, मधेसी समुदाय र पीछडिएका र जुन अधिकारबाट बञ्चित समूदायहरु छन । उनीहरुको हकहितको लागि लडने पार्टी भएकाले हुनाले आज एउता सानो कार्यक्रमको रुपमा भएपनि हामी यहाँ आइपुगेका छौं । अव जुन अधिकारको लडाई छ–आदिवासी, जनजातिको । केही मागहरु पूरा भइसकेको छ । र, केही मागहरु पूरा हुने अवस्थामा छ । अहिले तत्कालका लागि संविधानमा जुन आदिवासीको वर्गीकरण भएको छ । त्यसैलाई नै मानेर, त्यसैलाई अघि बढाउने काम गरेको छ ।’
कार्यक्रममा जनमत पार्टीका नेताहरुले संविधानमा उल्लेख गरिएका आदिवासीहरुको वर्गीकरणलाई मानेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा प्रवक्ता यादवले आदिवासी जनजातिहरुको भावनामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न पनि सबैलाई आह्वान गर्नुभयो ।