सुन तस्करीमा सरकारको छानविन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छः उपमहासचिव शर्मा | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सुन तस्करीमा सरकारको छानविन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छः उपमहासचिव शर्मा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताउनुभएको छ ।

सोमबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताउनुभएको छ । उहाँले सरकारको छानविन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताउनुभयो ।

उहाँले अहिलेको अवस्थामा सरकारले गरेको छानविनलाई सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले बरु सरकारलाई निश्चित समयभित्र छानविन गरिसक्नुस् भने समय तोक्न भने सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘संसद ठप्प गर्नु हुँदैन । संसद खोल्नुपर्छ । धेरै इस्युहरु छन् यतिबेला । ति इस्युहरुलाई यहाँ उजागर गर्नुपर्छ । हामीले बारम्बार के अनुरोध गरेका छौँ भने प्रतिपक्षी दललाई यो संसद खोल्नका लागि सहजीकरण गर्नुहोस् । मन्त्रीहरुको जवाफ सुनौँ । उहाँहरुको जवाफ सुनेर हामी अगाडी बढौँ भनेर सरकारको तर्फबाट भइराखेको छ । सभामुखले भनिरहनु भएको छ । हाम्रो तर्फबाट संसद खोल्न दिनदिनै पहल भइराखेको छ । प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतालाई भेटिपनि राख्नुभएको छ । छलफल पनि भइरहेको छ । हामी छिटोभन्दा छिटो संसद खोल्न चाहान्छौँ । सरकारले पक्रिसकेपछि त्यसलाई कसरी यो सुन आइरहेको छ भनेर जालो पत्ता लगाउँदै छ त । त्यो छानविनको रिपोर्ट आइसकेपछि चित्त नबुझ्दा, आवश्यक पर्दा, अधुरो हुँदा भोलि उच्चस्तरीय बनाएर थप छानविन गर्न पनि आवश्यक होला । तर अहिले छानविन प्रक्रियालाई सबैले मद्दत गर्नु नै राम्रो हो नि । बरु यति दिनभित्र छानविन सक्नुस् भन्न सकियो । छिटो सक्नुस् भन्न सकियो । सकिसकेपछि अनि आवश्यक परे उच्च स्तरीय बनाए हुन्छ ।’

उहाँले संसदमा धेरै विषयहरुमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद ठप्प पार्नु नहुने बताउनुभयो । उपमहासचिव शर्माले सरकारको तर्फबाट संसद खोल्नका लागि पहल भइरहेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);