काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा मल्ल भावुक भएका थिए । ‘प्लाइउड र लिस्टीक बोकेर बनाएको ब्याट, पत्रिका पानीमा भिजाएर बनाएको बल र रबर बेरेर बनाएको बल खेल्दै राष्ट्रिय टिममा जोडिएको पनि झण्डै २ दशक भइसकेछ । १८ वर्षसम्म चन्द्र सूर्य अंकित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाए । उपकप्तान र कप्तानको भुमिकामा रहेर देशको झण्डा काधमा बोकेर प्रतिनिधित्व गर्ने अवसर पाए,’ उनले भने ।
‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थीतीलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु,’ मल्लले भने ।
मल्लले अन्तराष्ट्रिय क्रिकेटको यात्रालाई पूर्णबिराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको जानकारी दिए । तर, उक्त फरक यात्राबारे भने खुलाएनन् ।
‘मेरो अन्तराष्ट्रिय क्रिकेटको यात्रालाई पूर्णबिराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु । इमादारीताका साथ भन्नुपर्दा मेरो मन मुटु भारी भइरहेको छ । तर, यो विदाई होइन् यो मेरो यात्राको नयाँ अध्याय हो,’ मल्लले भने ।
ज्ञानेन्द्रले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग अन्तिम खेल खेलेका हुन् ।
ज्ञानेन्द्रले नेपालका लागि ७७ वटा लिस्ट ए खेलमा १ हजार ८०२ रन बनाएका छन् ।




