प्रहरीलाई बाहिर राखेर राजश्वले मात्रै अनुसन्धान गर्नु आशंका : डा.कोइराला | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

प्रहरीलाई बाहिर राखेर राजश्वले मात्रै अनुसन्धान गर्नु आशंका : डा.कोइराला

काठमाडौं, १८ साउन । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताउनुभएको हो ।

सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहनुभएका (नवराज ढुंगाना) लाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताउनु भयो । उहाँले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरुले खोज्नुपर्ने बताउनु भयो ।
उहाँले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान आझेलमा पर्ने दाबी गर्नुभयो । उहाँले भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको बताउनु भयो । नेता कोईरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताउनु भयो । उहाँले देशमा अराजकता र दण्डहीनता बढीरहेको बताउनु भयो । उहाँले मानिसको हत्या गर्नेहरुलाई राजनीतिक लेपमा छुट दिनु देशका लागि राम्रो नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचारले देश गाँजेको छ । अर्को भनेको दण्डहीनता बढीरहेको छ । मान्छे मार्नुहुन्छ, राजनीतिक लेपमा छुट्नुहुन्छ । सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतले निर्णय गरिसकेको हुन्छ । यस्ता कुरलाई हामीले ठिक राख्न सकेनौँ भने देश अराजकतातिर जान्छ । अहिले गइरहेको छ । भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ । एउटा प्रकरण निस्किन्छ, त्यो इस्यु अघि बढाउँदै अर्को इस्यु आउँछ, पहिलाको इस्यु साइड लाग्छ । भूटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो, भूटानी शरणार्थी प्रकरण रोकियो । झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ । सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही इन्भल्व हुन्छ । सुनकाण्डमा त नेपालका बजार धेरै ठूलो छैन । यो काण्ड चल्दाचल्दै अर्को काण्ड निस्किन्छ, कुनैपनि काण्ड निस्कर्षमा पुग्दैन, किनभने माथिका मानिस सहभागी हुन्छन् । सुन काण्डमा रोचक के छ भने सिबिआई इन्भल्व छैन । राजश्व अनुसन्धान मात्रै इन्भल्व छ । सिआईबी इन्भल्व छैन, त्यो इन्ट्रेस्टिङ छ । राजश्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अण्डरमा हुन्थ्यो, ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो, शेरबहादुरजी आइसकेपछि उहाँले फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन । त्यहाँ डिजी जो हुनुहुन्छ, सुन काण्ड भन्दा ७ दिन पहिला प्रधानमन्त्रीजीको पिए हुनुहुन्थ्यो । के हुँदैछ, कहाँ पुग्न खोज्दैछौँ ।’

नेता कोईरालाले संसद अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरिरहेको प्रसंग निकाल्दै बोलेको कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरुले पनि आफ्ना धारणा राख्न पाउने बताउनु भयो । कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरु छलफल बसिरहेकोप्रति पनि आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अर्कोतिर संसद चलिरहेको छ, विपक्षी पार्टी एमाले संसद अवरुद्ध गरेर बसिरहेको छ । संसदमा जति बोल्नु नि । बोलेर त्यसमा प्रतिपक्षले पनि बोल्नु सुन काण्डकै त इस्यु होला । आफ्ना कुरा राख्नु नयाँ कुरा भए एक्सपोज गर्नु । सत्ता पक्षका साथीहरु पनि बोल्लान् । पक्ष विपक्ष त स्वभाविक हो नि । संसदलाई अवरुद्ध गर्दा राष्ट्रलाई कति क्षति भइरहेको छ, यो कुरा विपक्षी दल नेपाली काँग्रेसले पनि बुझ्न जरुरी छ । एउटा इस्यु आउँछ, घटना अघि बढ्दै जान्छ, अनि शीर्ष तीन नेताहरु एक ठाउँमा बसिहाल्छन् । बसेर छलफल गर्छन् के गर्छन् थाहा छैन मलाई । हिजो अस्ति पनि छलफल भएको छ । के भएको भन्ने माग गर्नुस् । यो कुरालाई उजागर गर्न सक्नुपर्छ ।’

नेता कोईरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र बोलाएपछि मात्रै पार्टी सभापति कहाँ जाने गरेको बताउनु भयो । उहाँले पार्टी सभापतिले गरेका गल्ती र कमजोरीहरुमा आफूले असहमति राखिरहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);