काठमाडौं,१६ साउन । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । घिमिरेले दिउँसो १२ बजे बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन् ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग यसबारे टेलिफोन संवाद गरेका छन् । निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अबरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ ।
उनले दुई शीर्ष नेतालाई सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराएका थिए । सभामुख घिमिरेले सदन अवरोध खोल्नेबारे हिजो पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरुसँग समेत पटक–पटक छलफल गरेका थिए ।