काठमाडौं, १५ साउन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भत्काउने तयारी गरेको छ । महानगरले धुम्बाराहीस्थित पार्टीको कार्यालय नक्सा पास नगरिकनै बनाएको र अर्को विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको भन्दै खाली गर्न ३ दिनको समय दिएको छ । उक्त समय आज पूरा हुँदैछ ।
गत वर्ष असोज १३ गते पनि कामपाले कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेपनि हटाउन सफल भएन । महानगरले शुक्रवारबाट पुनः प्रक्रिया अघि बढाएको हो ।
धुम्बाराहीस्थित उक्त भवन स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार नक्सा पास नगरी निर्माण गरेको देखिएको छ । साथै विद्युत् नियमावली २०५० को नियम ५० को अनुसूची १३ मा बिजुलीको तारदेखि घरसम्मको न्यूनतम दूरी कायम नगरी विद्युत् प्रशारण लाइनमुनि नै भवन निर्माण गरेकोले कामपाले उक्त भवन भत्काउन लागेको जनाएको छ ।