सत्तापक्षका सांसदहरुको मागः सुन तस्करी नियन्त्रणमा संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सत्तापक्षका सांसदहरुको मागः सुन तस्करी नियन्त्रणमा संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्छ

काठमाडौं । सत्तारुढ राष्ट्रिय सभाका सांसदहरुले पनि सुन तस्करी नियन्त्रणमा संसद र संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद कृष्णप्रसाद पौडेल, जनता समाजवाद पार्टी, नेपाल सांसद मृगेन्द्रकुमार सिंह यादवलगायतका सांसदहरुले सुन तस्करी, ललिता निवासलगायतका भ्रष्टाचार काण्डहरुको तथ्य पत्तालगाई बाहिर ल्याउन संसद र संसदीय समितिहरुले कडा कदम चाल्नुपर्ने बताउनुभएको हो । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ काँग्रेस सांसद पौडेलले अन्तर्राष्ट्रिय जगतमा नै नेपालको अपमान हुनेगरी चर्चित सुनकाण्ड बाहिर आएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न संसदले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भयो । पछिल्लो सुन काण्डले झनै मुलुकको मान, सम्मान घटेर जाने सम्भावना बढेर गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरोकारवाला सबै पक्षसँग बसेर छलफल गर्न आवश्यक्ता रहेको समेत उहाँले बताउनु भयो ।

सांसद पौडेलले भन्नुभयो, ‘यो चर्चित सुनकाण्ड, ललिता निवास आदिइत्यादि । करप्सन र सुशासन भनेको यो ठिक अपोजिट कुरा हो । हामीले सुशासन कायम गर्न नसक्ने हो भने यो त हरेक दिन बढेको छ । अन्तराष्ट्रिय स्तरमा पनि नेपालको मान, सम्मान घट्ने सम्भावना बढेर गएको छ । त्यसप्रति पनि हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ ।’

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुनु मुलुकका लागि लाजमर्दो विषय भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सम्बन्धित पक्षमाथि कडा छानबिन गर्नुपर्ने बताउनु भयो । उहाँले सुन तस्करी, ललिता निवासलगायतको छानबिन गरी दोषीलाई उम्कन नदिने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्ने बताउनु भयो ।

सांसद यादवले भन्नुभयो, ‘सुशासनमा भ्रष्टाचार जुन अहिले भइराखेको छ । मुलुक राष्ट्रिय क्षेत्रमा, अन्तर्राष्ट्रिय क्षेत्रमा जुन किसिमले एउटा लाज लाग्ने किसिमले काम कुराहरु भईराखेका छन । चाल्र्स शोभराजले यहाँ अन्तराष्ट्रिय विमानस्थलमा हात्ति छिराईदिन्छु भनेका थिए । वास्तवमा अहिले भन्ने हो भने त्यो सावित जस्तै भएको छ । अव क्वीन्टलका क्वीन्टल सुन बरामद भयो । त्यो त्यहाँबाट छिरेर आएर बाहिर पुगेपछि समातियो । त्यो भन्दा पहिले पनि त्यही किसिमले कति आएको रहेछ । त्यसमा चाहीँ यो जुन भ्रष्टाचार हेर्ने निकायहरु छन् । तिनीहरुलाई चुुस्तदुरुस्त पार्नुपर्ने, बेलाबेलामा हेर्नुपर्ने, अहिले जुन छानबिन पनि भइराखेको छ । ललिता निवासको कुरा, भूटानी शरणार्थीको कुरा, यही सुनकाण्ड भयो । यसमा के कस्तो छानबिन भइराखेको छ ? दोषी चाहीँ उम्कनु पनि भएन । निर्दोष फस्नु पनि भएन । त्यो हिसावले हुनुपर्ने हो ।’

यता, सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले मौद्रिक नीति र वित्तीय नीतिमा तालमेल नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति वित्तीय नीतिसँग तालमेल नहुनु मुलुकका लागि गम्भिर विषय भएको उल्लेख गर्दै त्यस विषयमा सम्बन्धित पक्षसँग संसद र संसदीय समितिले छलफल गर्नुपर्ने बताउनु भयो ।

सांसद शर्माले भन्नुभयो, ‘अलि पहिलादेखि एउटा समस्याको रुपमा रहेको यो मौद्रिक नीति र वित्तिय नीति जो छ । वित्तीय नीतिको पूरक भएर आउनुपर्ने मौद्रिक नीति । त्यसले एउटा गम्भिर समस्या देखापरेको देखिन्छ । त्यसकारण यी दुवै पक्षका सरोकारवालाहरुलाई बोलाएर छलफल गर्नुपर्छ । किनभने यो सुशासनसँग जोडिन्छ । एउटा कार्यक्रम यो राख्नुपर्छ ।’

सांसद शर्माले विभिन्न आयोजनाहरुमा समेत भ्रष्टाचार मौलाएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);