ललित सिंह, बझाङ
बझाङ, २८ पुस । विकट ग्रामीण बस्तीहरूलाई समेट्दै बझाङ र बाजुरा सडक सञ्जालमा जोडिएपछि दुवै जिल्लाका बासिन्दालाई सहज भएको छ । परापूर्वकालदेखि नै धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध जोडिएका बझाङ र बाजुरा गत कात्तिकमा सडकमार्फत जोडिए पछि दुवै जिल्लाका बासिन्दाले भरपुर लाभ लिइरहेका छन् ।
७१ किलोमिटर लामो सडकले बझाङ र बाजुरालाई जोडेपछि सयौं चेलीको माइतीघर नजिकिएको छ । बाजुराका विभिन्न कार्यालयमा कार्यरत बझाङका तीन सयभन्दा बढी शिक्षक र कर्मचारीलाई आवतजावतमा सहज भएको छ । स्वास्थ्योपचारमा पहुँच बढेको छ भने व्यापार–व्यवसाय र पर्यटनले फड्को मारेको छ । यातायातका साधनमार्फत बझाङको सदरमुकाम चैनपुरदेखि बाजुरा सीमाक्षेत्र थामलेकसम्मको ३१ किलोमिटर पार गर्न पाउँदा बझाङी हर्षित छन् ।
पिठ्युँको भारी उत्रिएपछि सीमाक्षेत्रका बासिन्दा दंग छन् । स्थानीय उत्पादन बेच्न पसिनासरी भएर छिमेकी जिल्ला पुर्याउँदै आएका उनीहरूका लागि सडक सुविधा अपत्यारिलो बनेको छ ।
सडकका कारण सुन्दर पाटनहरू भएको सीमाक्षेत्र थामलेक र बाजुरातर्फ जोडिएको मनमोहक छेडेदह तालमा पर्यटकीय गतिविधि ह्वात्तै बढेको छ । प्रसिद्ध बडिमालिका, तलिगोठीलगायतका देवस्थलमा पूजा गर्न बझाङीहरू बाजुरा पुग्ने गरेका छन् भने बझाङका ढंडारमष्टा, सैनाडा, बान्नी मस्टालगायतका मन्दिरमा पूजा गर्न बाजुरालीको घुइँचो लाग्ने गरेको छ ।