तनहुँ, ९ साउन । तनहुँको आँबुखैरेनीमा दुइटा माइक्रो बस एकापसमा ठोकिँदा १२ जना घाइते भएका छन् । पृथ्वीराज मार्ग अन्तर्गत पर्ने आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते भएको र ३ जनाको चितवन मेडिकल कलेज चितवनको आइसीयुमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक गायत्रीराज शर्माले जानकारी दिनुभयो ।
पोखराबाट काठमाडौं जांदै गरेको बा ४ ख ५१७९ नम्बरको माइक्रो र काठमाडौंबाट पोखरा आउँदै गरेको बा २ ख ४०२० नम्बरको माइक्रो मङ्लगबार राती ९ः२० बजे ठोक्किएको थियो ।
शर्माको अनुसार दुर्घटनामा परी तनहुँको ब्यास नगरपालिका–४ बस्ने वर्ष २५ का गणेश राई सख्त घाइते हुनु भएको छ । यसै गरी कास्की पोखरा महानगरपालिका–२१ बस्ने वर्ष ४१ को विजय पौडेल, वर्ष ४५ को प्रेम ठकुरी, १९ वर्षीय रोशन ठकुरी, पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ४४ को मनोज तामाङ, वर्ष ३६ की सबिता श्रेष्ठ तामाङ घाइते हुनु भएको छ । यसै गरी रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ बस्ने २६ की प्रमोद चौधरी र दोलखा दार्जे गाउँपालिका–२१ बस्ने १८ वर्षीय आइजन गुरुङ घाइते हुनु भएको । घाईत आठै जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
धादिङ नीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष २४ को राजु गिरी, गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ बस्ने वर्ष ३६ को रामप्रसाद गुरुङ, तनहुँको व्यास नगरपालिका– ११ बस्ने वर्ष ४० को डिल्लीराम भुजेल, कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ३८ की लेकाली गुरुङको आँबुखैरेनीमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।