सय किलो सुन तस्करी प्रकरण : मामा भाञ्जामा अड्कियो अनुसन्धान | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

सय किलो सुन तस्करी प्रकरण : मामा भाञ्जामा अड्कियो अनुसन्धान

अनुसन्धानमा खटाइए पँगेनी

काठमाडौं,९ साउन । राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक अन्य व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् ।

नेपालमा तस्करीको सुन बरामद परिमाण यो नै अहिलेसम्मकै उच्च भए पनि राजस्व अनुसन्धान विभागले यस प्रकरणमा संलग्न उच्च गिरोहको जराजरा खोतल्न सकेको छैन । रेडी ट्रेड प्रालिको नामबाट कम्पनी खडा गर्न लगाएर सुन तस्करीको चाँजापाँजो मिलाउने ‘मुख्य डिजाइनर ’को बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूले कुनै भेउ पाउन सकेका छैनन् ।

विभागका अनुसन्धान अधिकृतको निशाना रेडी ट्रेड सञ्चालन गर्ने दोलखाका २१ वर्षीय दिलिप भुजेल र उनका मामा रामकुमार भुजेल बनेका छन् । यो काण्डमा सबैभन्दा पहिला रेडी ट्रेड सञ्चालन गर्ने दिलिप पक्राउ परेका थिए । पहिला मजदुर व्यवसाय सञ्चालन गर्ने दिलिपको नागरिकता प्रयोग गरेर तस्करी गर्ने गिरोहले रेडी ट्रेड सञ्चालनको चाँजोपाजो मिलाउँदै आएको देखिए पनि त्यो गिरोह को हो भन्ने बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूको छानबिन पुग्न सकेको छैन । दिलिप पक्राउ गरेर बयान लिँदा दिलिपले आफ्नो मामा रामकुमार भुजेलले नागरिकता मागेको र आफूले दिएपछि सोही आधारमा कम्पनी खोलिएको आफूले पछि मात्रै थाहा पाएको बताउनुभएको थियो । दिलिपको सो बयानका आधारमा मामा रामकुमार पनि पक्राउ परेका थिए । भाञ्जालाई मामाले परिचालन गरे पनि मामालाई परिचालन गर्ने गिरोहको जालो माथिसम्म नै रहेको अनुमान गरिए पनि सो कुरा खुल्न सकेको छैन । राजस्व अनुसन्धान विभागका एक अधिकृतका अनुसार भाञ्जा हुँदै अनुसन्धान मामासमक्ष पुगेको भए पनि भित्रको जरा पत्ता लाग्न सकेको छैन ।

सुन बरामदपछि यो प्रकरणमा अनुसन्धानका क्रममा हालसम्म १५ जनाभन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा रेडी ट्रेडका सञ्चालकलगायत, भन्सारका कर्मचारी, भारतीय र चिनियाँ नागरिक तथा केही बिचौलिया रहेका छन् ।

सय किलो सुन भित्र्याउने कम्पनीका सञ्चालक दिलिप भुजेलको उमेर हाल २१ वर्ष मात्रै छ । २१ वर्षमा नै उनले यति ठुुलो कम्पनी खोलेर अरर्बौंको तस्करी गर्ने कुरा विश्वासै गर्न नसकिने खालको देखिन्छ । स्रोतका अनुसार कानुनी दृष्टिमा २१ वर्षका दिलिप र उहाँका मामा यो कारोबारको मुख्य पात्र देखिए पनि व्यवहारमा अर्कै शक्तिशाली पक्ष रहेको छ । अनुसन्धान गर्ने निकाय त्यो शक्तिशाली पक्षसमक्ष पुग्नै नसक्ने स्रोतको दाबी छ । स्वयम राजस्व अनुसन्धान विभागका केही अधिकृतहरू पनि यो तथ्यलाई स्वीकार्छन् । राजस्व अनुसन्धान विभागका एक अधिकृतले नेपाल समाचारपत्रसँग भने–‘मामा भाञ्जामा भन्दा माथि अनुसन्धान पुग्न कठिन हुन्छ कि भन्ने आशंका हामीलाई पनि लागेको छ ।’

यस तस्करी प्रकरणमा एक हप्तादेखि सुन कारोबारका मुख्य लगानीकर्ता को हुन् भन्ने कुरामा अनुसन्धान भइरहेको भए पनि त्यसबारेमा थप परिणाम आउन नसकेको विभागका ती अधिकृतले बताए । सुन तस्करी प्रकरण बाहिरीएपछि केही व्यापारिक पृष्ठभूमिका व्यक्तिहरू देश छोडेर जान लागे पनि उनीहरू विशेष निगरानीमा पर्न सकेका छैनन् ।

हङकङबाट तस्करी गरी ल्याइएको एक क्विन्टल बढी सो अवैध सुन विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर सजिलोसँग बाहिरिने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । उक्त सुन भन्सारबाट पास भएर ट्याक्सीमा लैजाने क्रममा विभागले बरामद गरेको थियो ।

सुन क्याथे प्यासिफिक एअरलाइन्सको विमानमा मोटरसाइकल र स्कुटरको ब्रेक सु तथा दाह्री काट्ने रेजरमा फिट गरेर ल्याइएको थियो । सो प्रकरणमा शुरूमा नै पक्राउ पर्नेमा एजेन्ट राजन राई र ट्याक्सी चालक अशोक लामा पनि छन् । बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत एवम् प्रवक्ता खनालका अनुसार गत बुधबार भन्सारमा भित्रिएको सुन १५ जुलाईमा गोदाममा आइपुगेको थियो । सो सुन तीन दिनपछि अर्थात् १८ जुलाईमा गोदामबाट बाहिर निकालिएको थियो ।

पक्राउ परेका रामकुमार भुजेलको बयानबाट यो प्रकरणमा संलग्न मुख्य कारोबारीसम्म पुग्न सकिने विभागका अधिकारीहरू बताउँछन् । यद्यपि, विभागका एक अनुसन्धान अधिकृतका अनुसार भुजेलको बयान लिने क्रममा हालसम्म त्यस्तो कुनै नयाँ तथ्य पत्ता लाग्न सकेको छैन । विभागका ती अधिकृतले पक्राउ परेका चिनियाँ र भारतीय नागरिकबाट केही नयाँ तथ्य आउन सक्ने आशा गरिएको बताए । यो छानबिन प्रकरण केही समय लम्बिन सक्ने जिकिर गर्दै विभागका एक अधिकारीले भने– ‘यस्ता अनुसन्धानको समय ६ महिनासम्म हुन्छ । त्यसैले पूरै परिणाम आज, भोलि नै आउँछ भन्ने हँुदैन, समय लाग्न सक्छ ।’

कम्पनीका सञ्चालक भनिएका दिलिपको घरमा प्लास्टिकको छानो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको झण्डै एक सय किलो सुन नेपाल ल्याउने रेडी ट्रेड प्राइभेट लिमिटेडका सञ्चालक भनिएका दिलिप भुजेलको परिवारलाई दैनिक दुई छाक खानसमेत मुस्किल छ ।

दोलखाको मेलुङ १ पवटी बिसौनीस्थित दिलिपको घरमा आमा कल्पना, श्रीमती र भाइ बस्दै आएका छन् । आफ्नो र अधियाँमा कमाएको गरी झण्डै तीन रोपनी जग्गामा सामान्य खेतीपाती गरेर गुजारा गर्दै आएका दिलिपको परिवारको घरमा छाना छाउने पैसा नभएर राहतमा पाएको प्लास्टिकले ओताएर बसिरहेको स्थानीय बताउँछन् ।

अहिले छोरालाई एक सय किलो सुन ल्याएको आरोपमा प्रहरीले समाएको खबरले आफू जिल्ल परेको जिकिर गर्दै आमा कल्पना भुजेलले दुखेसो पोख्नुभयो– ‘आफूहरूले जीवनमा कहिल्यै एक तोला सुन देखेको छैन । छोराले एक सय किलो सुन ल्यायो भनेको खबर सुन्दा ज्यादै पीडा भएको छ । मेरो निर्दोष छोरालाई फसाउन खोजिएको छ, सबैले उसलाई सहयोग गर्नुपर्छ ।’

आफ्नो छोरा दिलिप काठमाडौंमा एक जना आफन्तको चाउचाउ उद्योगमा मजदुरी गरिरहेको जानकारी दिँदै आमा कल्पनाले भन्नुभयो– ‘हामीलाई यहाँ दुईछाक पेटभर खान मुस्किल छ । दिलिप आफंै पनि काठमाडौंमा डेरा वहाल तिर्ने पैसा नभएर आफन्तकोमा मजदुरी गर्दै बस्दै आएको छ । अब कसरी उसले एक सय किलो सुन ल्याउन सक्छ रु’ उहाँले आफ्नो छोरोलाई कसैले फसाएको आरोप लगाउनुभयो ।

उहाँले आर्थिक अवस्था कमजोर भएकै कारण गाउँमै ११ कक्षा पढ्दापढ्दै पढाइ छाडेर एक वर्षअघि काठमाडौंमा मजदुरी गर्न गएको बताउनुभयो । आमा कल्पनाका अनुसार शुरूमा इट्टाभट्टामा काम गरेका दिलिपले पछि ठूलो बुबाकोमा बसेर ठूलो बुबाकै चाउचाउ उद्योगमा काम गर्न थालेको हो । उहाँले भन्नुभयो– ‘एक वर्षअघि दिलिपले विवाह गरेपछि घरमा दैनिक गुजारा गर्न झन् समस्या भयो । बाबुले मजदुरी गरेर पठाएको पैसाले मात्र गुजारा नचल्ने भएपछि ऊ पनि पढाइ नै छोडेर मजदुरी गर्नकै लागि काठमाडौं गएको हो ।’ दिलिपका बुबा रामबहादुर भुजेल पनि काठमाडौंमै मजदुरी गर्नुहुन्छ ।

अनुसन्धानमा खटाइए एसपी पँगेनी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय केजी सुनको छानबिन गर्न राजस्व अनुसन्धान विभागले प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले विभागको पत्र पाएपछि अनुसन्धानमा सहयोग गर्न मानव बेचबिखन ब्युरोमा कार्यरत् प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई पठाएको छ ।

तस्करीको सुनको विषयमा अनुसन्धान गरिरहेको विभागको टोलीले सुनका मालिक को हुन् भन्ने जानकारी लिन नसकेपछि प्रहरीसँग गुहार माग्न लागेको हो ।

चिनियाँ, भारतीय र नेपालका संगठित सुन तस्करको मिलेमतोमा सुन नेपाल आएको दाबी गरे पनि विभागले सुनका मालिक को हुन् भन्ने पत्ता लगाउन नसकेपछि प्रहरीको सहयोग मागेको हो ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले विभागले अनुसन्धानका लागि एक जना अधिकृत खटाइदिन आग्रह गरेपछि एसपी पंगेनीलाई खटाएको जानकारी दिनुभयो ।

विभागले एक जना मात्रै अधिकृत मागेर कस्तो अनुसन्धान गर्न खोजेका हुन भन्ने विषयमा आफूहरू पनि छक्क परेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले नेपाल समाचारपत्रलाई बताए ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले यो संगठित अपराध भएकाले यो विषयमा प्रहरीको विशेष टोलीले अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । उहाँले यसमा अन्तर्राष्ट्रिय गिरोह संलग्न रहेकाले अहिलेको अनुसन्धानको ताल हेर्दा केही गरेको छु भनेर देखाउने मात्रै काम भएको टिप्पणी पनि गर्नुभयो । उहाँले भन्नुभयो– ‘यो ठुलो अपराध हो । यसमा एक व्यक्तिको संलग्नताले मात्रै अनुसन्धान पूरा होला जस्तो लाग्दैन । यसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो वा उपत्यका अपराध अनुसन्धानको टोली नै परिचालन हुनुपर्ने थियो । अहिले भइरहेको अनुसन्धान टुंगोमा पुग्ने अवस्था मैले देखेको छैन ।’

नेपाललाई ट्रान्जिट बनाएर सुनदेखि लागु औषधको अवैध कारोबार गर्दै आएको गिरोहकोे संलग्नता अहिलेको काण्डमा भएको घटनाक्रमले पुष्टि गर्दै गएको दाबी गर्दै पाइएन पूर्व डीआईजी मल्लले भन्नुभयो– ‘विभाग यसमा गम्भीर हुनुपर्ने थियो, त्यो हुन सकेको छैन ।’समाचारपत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);