भद्रकुमारी घले सदनमा पनि चल्यो बालेनको डोजर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भद्रकुमारी घले सदनमा पनि चल्यो बालेनको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाले बुधबार बिहानबाट अनधिकृत रुपमा बनाइएको संरचना भन्दै सो सेवा सदनको भवन भत्काउने काम सुरु गरेको हो । समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरेकी घलेले अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुका लागि सो भवनमा आश्रय दिँदै आउनु भएको छ । यता, महानगरपालिकाले भने सार्वजनिक जग्गामा बनाइएको भवन भत्काउनु कानुनी राज्यको कर्तव्य भएकाले भत्काउने काम गरिएको जनाएको छ ।

महानगरपालिकाका नगर प्रहरी वल प्रमुख राजुनाथ पाण्डेले अनधिकृत रुपमा बनेका संरचना भत्काउनु परेको बताउनु भयो । उहाँले कानुनी राज्यमा कानुन अनुसार काम हुने भन्दै आफूहरुले सोही अनुसार सो सदनको अनधिकृत भवन भत्काउने काम सुरु गरेको बताउनु भयो । नगरप्रहरी प्रमुख पाण्डेले आश्रय लिईरहेका अनाथ, अशक्त बालबालिका तथा ज्येष्ठ नागरिकहरुको पनि महानगरपालिकाले आश्रयको व्यवस्था गर्ने आश्वासन दिनु भयो । उहाँले भन्नु भयो, ‘यो अनाधिकृत संरचना हो । यो सार्वजनिक जग्गा हो । यसमा भएको संरचना भत्काईन्छ । कानुनी व्यवस्था यही हो । कानुनी राज्यमा कानुन अनुसार काम हुन्छ । भावनामा बग्ने छुट हामीलाई छैन ।’

यता, सामाजिक संघ, संस्थाहरुले भने समाजसेवाको क्षेत्रमा समर्पित सो सदन भत्काउने काम गरेको भन्दै काठमाडौं महानगरपालिकाको विरोध गरेका छन । उनीहरुले पूर्व जानकारी समेत नगराई अनाथ, अशक्त र असहाय बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुलाई आश्रय दिने काम गरिरहेको सो सदनको भवन भत्काउने महानगरपालिकाको कदमलाई अत्याचारको संज्ञा दिएका छन । जब्बरजस्ती ढंगले सो सदनको भवन भत्काउने काम गर्नु गलत भएको राउटे लोपोन्मुख सिमान्तकृत उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का अधिकारीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘जब्बरजस्ती सामान नै उठाउन नदिएर डोजर चलाउनु राम्रो होइन । असहाय, महिला, बालिबालिका, ज्येष्ठ नागरिकहरुको व्यवस्थापनका लागि समय चाहिएको कुरा हामीले राखेका हौं ।’

अन्य संस्थाहरुले पनि सो सदनलाई महानगरपालिकाले प्रयोगमा ल्याउनुपर्नेमा भत्काउने काम गरेको भन्दै आक्रोश पोखेका थिए ।

पञ्चायतकालमा सांसद हुँदै सहायकमन्त्री समेत रहनु भएकी घलेले आफ्नो व्यक्तिगत सम्पत्ति समाजसेवाको काममा परिचालन गर्दै आउनु भएको छ । उहाँले सो सदन भित्र पुस्तकालय, बाचनालय, धार्मिक स्थल, स्कुल आदिको रुपमा प्रयोग गर्दै आउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);