सम्बन्धित जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइयो, आजैबाट काम सुरु
काठमाडौं, २७ पुस । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकेको छ । आयोगले सातै प्रदेशमा निर्वाचन गराउन सम्बन्धित जिल्लाका न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेकोे हो । आजैदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।
यी हुन् मुख्य निर्वाचन अधिकृत
प्रदेश १: राजुकुमार खतिवडा
प्रदेश २ : राधाकृष्ण उप्रेती
प्रदेश ३ : बालमुकुन्द दवाडी
प्रदेश ४ : दीपेन्द्र अधिकारी
प्रदेश ५ : हेमन्त रावल
प्रदेश ६ : मेदिनीप्रसाद पौडेल
प्रदेश ७ : जयानन्द पनेरु
माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले बुधबार कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार २४ गते विहान १० बजेबाट मतदान सुरु हुने छ । मतदान अपरान्ह ३ बजेसम्म जारी रहने आयोगले जनाएको छ ।
आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरी १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने जनाएकाे छ । यसैगरी १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले आज सार्वजनिक गरेको तालिका अनुसार सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा विहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने छ ।
यी ठाउँमा छन् उच्च अदालत
प्रदेश १ – विराटनगर
प्रदेश २ – जनकपुर
प्रदेश ३ – पाटन
प्रदेश ४ – पोखरा
प्रदेश ५ – तुलसीपुर
प्रदेश ६ – सुर्खेत
प्रदेश ७ – दिपायल