नेपाल–भारत प्रबुद्ध समूहको संयुक्त बैठक नयाँ दिल्लीमा सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

नेपाल–भारत प्रबुद्ध समूहको संयुक्त बैठक नयाँ दिल्लीमा सुरु

नयाँ दिल्ली, २७ पुष । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि पहिलो पटक भारतको नयाँ दिल्लीमा नेपाल–भारत प्रबुद्ध समूहको संयुक्त बैठक सुरु भएको छ ।

दिल्लीको इन्स्टिच्युट फर डिफेन्स एण्ड एनालाइसिस (आइडीएसए) भवनमा जारी बैठकमा अहिलेसम्मका बैठकमा छलफल भएका विषयको समीक्षा भइरहेको नेपालतर्फका प्रबुद्ध समूहका संयोजक डा. भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार दोस्रो दिन बस्ने बैठकमा दुई देशबीचको सम्बन्धबारे विशेष छलफल हुने बताइएको छ ।

यस्तै सन् १९५० को शान्ति तथा मैत्री सन्धिको विषयमा आएका राय र चासो लगायत सीमा, डुबान, व्यापार सम्झौतालगायत विषयमा थप छलफल हुने उनले बताए ।

दोस्रो दिन भारतका तर्फबाट प्राध्यापक महेन्द्र पी. लामाले नेपालमा भारतीय सहायताका बारेमा प्रस्तुति दिने बताइएको छ । यस पटकको बैठकमा नेपालमा चीनको बढ्दो प्रभावप्रति चनाखो देखिएको भारतले प्रबुद्ध समूहका माध्यमबाट नेपालसँगको सम्बन्धलाई सुधार्ने रणनीति बनाएको बुझिएको छ ।

त्यसका लागि नेपालको तर्फबाट उठाएका १९५० को सन्धि लगायत अन्य मुद्दामा सकेजति लचक भएर सम्बोधन गर्ने गरी भारतीय पक्षले रणनीति बनाएको उच्च स्रोतको दाबी छ । आगामी असार मसान्तसम्म समूहले दुबै सरकारलाई संयुक्त प्रतिवेदन बुझाउने छन् ।

बैठकमा भारतका तर्फबाट समूहका संयोजक भगतसिंह कोशियारी तथा सदस्यहरू प्राध्यापकद्वय महेन्द्र पी.लामा तथा बीसी उप्रेती, नेपालका लागि पूर्व भारतीय राजदूत जयन्तप्रसाद समेत सहभागी छन् ।

नेपालका तर्फबाट संयोजक भारतका लागि पूर्व राजदूत डा. भेषबहादुर थापा तथा सदस्यहरू पूर्वमन्त्री निलाम्बर आचार्य, अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र एमाले नेता राजन भट्टराई सहभागी रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);