काठमाडौं, २७ पुष । दूरसंचार सेवा प्रदायकहरुले प्रयोग गर्ने फ्रिक्वेन्सी प्रयोगका लागि सरकारले बनाउँदै गरेको नयाँ नियमावली नेपाल दूरसंचार प्राधिकरणबाट पास भएको छ । यसअघि कार्यविधिका आधारमा थप फ्रिक्वेन्सी बितरण गर्ने तयारी भएपनि सो अनुसार कानूनीरुपमा बितरण गर्न नमिल्ने भन्दै नयाँ नियमावली बनाईएको हो ।
दूरसंचार नीति २०७३ अनुसार हाल बनाउन लागिएको नियमावलीको नाम ‘रेडियो फ्रिक्वेन्सी बितरण नियमावली–२०७४’ रहेको छ । दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण समितिले यसअघि बनाईएको कार्यविधिलाई नियमावलीमा रुपान्तरण गरेर लागू गराउने सरकारको योजना छ ।
यसको लागि सो कार्यविधिलाई नियमावलीको मस्यौदा बनाउन समितिले नेपाल दूरसंचार प्राधिकरणलाई जिम्मा दिएको थियो । नयाँ नियमावलीको मस्यौदा प्राधिकरण बोर्डबाट पास भईसकेको प्राधिकरणले जनाएको छ । कुन फ्रिक्वेन्सी कसरी बितरण गर्ने भन्ने विषयमा नियमावली केन्द्रित रहेको छ ।
सो मस्यौदामा फ्रिक्वेन्सीको मूल्य, मापदण्ड, मोडालिटीको बारेमा स्पष्ट पारिएको छ । फ्रिक्वेन्सी बितरणको आधार, त्यसको लागि आवश्यक शर्तहरु र फिर्ता गर्ने प्रावधानहरुको बारेमा उल्लेख गरिएको छ । पर्याप्त कानूनको अभावमा फ्रिक्वेन्सी वितरणमा ढिलाइ हुँदा सरकारको अर्बौं रुपैयाँ राजस्व गुमिरहेको छ ।
अर्कोतर्फ फ्रिक्वेन्सी बितरणको स्पष्ट व्यवस्था नहुँदा दूरसंचार सेवा प्रदायकहरूले सेवा सञ्चालन र विस्तारका लागि हाल प्रयोग गरिरहेको फ्रिक्वेन्सी पर्याप्त नभएको भन्दै थप फ्रिक्वेन्सीका लागि पटक पटक प्राधिकरणसमक्ष माग गर्दै आएका छन् ।