काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसदलाई राष्ट्रको हीतमा काम गराउन भुमिका खेल्ने बताउनुभएको छ ।
बुधवार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले संसदलाई सबल र राष्ट्रको हीतमा काम गराउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताउनुभएको हो । उहाँले संसदभित्र भएका समस्या र कमी कमजोरीहरुलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडी बढाउन विगतदेखि नै महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरु चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताउनु भयो । उहाँले चुनाव जसरी पनि जित्नुपर्ने नभइ स्वस्थ प्रतिष्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राख्नुभयो ।
उहाँले संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारहरुलाई संघीय संसदका पदाधिकारीहरु, संसद सचिवालय लगायत सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।