‘सत्ता लब्याउन अनेक बहाना खोजियो’ | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

‘सत्ता लब्याउन अनेक बहाना खोजियो’

kp oli

काठमाडौं, २७ पुष । एमाले अध्यक्ष केपी ओलीले प्रदेशको अस्थायी केन्द्र र प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ गरेर सरकारले सत्ता लम्ब्याउन खोजेको आरोप लगाएका छन् । ती काम छिटो गर्न उनले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

‘प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने काम सरकारको हो,’ उपचारका लागि थाइल्यान्ड प्रस्थान गर्नुअघि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भने, ‘तर यो काम नगरेर सरकार अझै सत्ता लम्ब्याउन सकिन्छ कि भनेर लागेको छ ।’
जनमत आएपछि पनि सरकार लज्जाजनक ढंगले बसिरहेको उल्लेख गर्दै ओलीले यसबाट जनताको अवमूल्यन भएको बताए । ‘लज्जाजनक ढंगले सरकारले बहाना खोज्ने काम गरिरहेको छ,’ ओलीले भने । पहिले राष्ट्रिय सभाको अध्यादेश, अहिले प्रदेश प्रमुखको नियुक्तिलगायत बहाना झिकेर सरकार छाड्न विलम्ब गरेको आरोप उनको छ ।

निर्वाचन आयोगले समेत विभिन्न बहाना देखाएर समानुपातिकको मत परिणाम सार्वजनिक नगरेको र राष्ट्रिय सभाका लागि दल दर्ता गर्न १५ दिनको समय दिएकामा ओलीले आपत्ति जनाए । आयोगका पदाधिकारी नै कुनै पदका लागि लबिइङ गरिरहेको भन्ने समाचार आएको प्रति पनि ओलीले संकेत गरे । उनले आयोग र गोविन्द केसीको आन्दोलन एकै वाक्यमा जोडेर टिप्पणी गरे । ‘निर्वाचन आयोग, विभिन्न प्रकारका ब्ल्याकमेलिङको सिकार भएको छ भन्ने सुनिन्छ, यसबारे तपार्इंहरू पत्रकार आफै जान्नुहोस्,’ ओलीले भने, ‘यदि उहाँहरू आयोग लाई कानुनी कुरामै केही अप्ठेरो लाग्यो भने गोविन्द केसीजीसँग सोध्नुभए हुन्छ । केसीजीले धेरै कुरा फटाफट भनिरहनुभएको छ ।’ ओलीले एमाले र माओवादीबीचको एकता प्रक्रिया भाँड्ने षड्यन्त्र भइरहेको पनि बताएका छन् तर एकता प्रक्रिया चाँडै निष्कर्षमा पुग्ने उनको दाबी छ । ‘एमाले र माओवादी केन्द्रबाट आत्तिएका शक्तिले यसलाई बिथोल्न नांगै अलोकतान्त्रिक, अरूका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, प्रतिक्रियावादी भूमिकामा उद्यत् छन्,’ ओलीले भने, ‘म भनिदिन्छु, यी सबै प्रयास सफल हुँदैनन् ।’ उनले एकता हुन नदिने षड्यन्त्रमा कतिपय बुद्धिजीवी भनिनेहरूसमेत लागेको उल्लेख गर्दै भने, ‘कतिपय खुराफाती विद्यामै पीएचडी गरेकाहरू लागेका छन्,’ उनले भने, ‘ती विद्यावारिधिहरूलाई म भनिदिन चाहन्छु, यिनका बुद्धिले यो हिउँदमा घाम ताप्छ । पार्टी एकता हुन्छ ।’ एकता प्रक्रियामा माओवादीलाई अध्यक्ष दिने गरी व्यस्थापन हुन्छ कि हुन्न भन्ने प्रश्नमा उनले घुमाउरो जवाफ दिए । ‘हामीलाई जनताको व्यवस्थापन कसरी गर्ने भन्ने छ, चिसोमा कठयांग्रिएकालाई कसरी कम्बल पुर्‍याउने भन्ने छ,’ ओलीले भने ।

ओलीले जनतालाई कुनै अधिकार दिलाउन आवश्यक पर्‍यो भने संविधान संशोधन गर्न सकिने बताए । नियमित स्वास्थ्य परीक्षणका लागि गएका ओली सोमबार स्वदेश फर्किनेछन् । उनको नियमित उपचार थाइल्यान्डस्थित बुम्रुङगार्ड अस्पतालमा हुने गरेको छ ।आजको कान्तिपुर पत्रिकामा यस्तो खवर छ ।

ताजा समाचार