काठमाडौं, २६ पुस । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीको मुद्दामा बहस सकिएको छ । सर्वोच्च अदालतको पक्षमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, अधिवक्ता माधवकुमार बस्नेतले बहस गरेका थिए ।
कसले के भने ?
सर्वोच्चको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले डा. केसीविरुद्ध फौजदारी अवहेलना भएकाले कानुनले तोके अनुसार डा. केसीलाई एक वर्ष कैद र १० हजार जरिवाना गर्नुपर्ने दाबी प्रस्तुत गरे ।
सर्वोच्चकै पक्षबाट बहस गर्दै अर्का वरिष्ठ अधिवक्ता श्याम खरेलले केसीले ‘गिरोह’ भनेकाले सिंगो अदालतकै मान मर्दन भएको जिकिर गरे । त्यस्तै सर्वोच्चकै तर्फबाट बहसमा सहभागी हुँदै अर्का अधिवक्ता माधवकुमार बस्नेतले न्याय प्रशासनको काममा दखल दिँदा अवहेलना हुने भन्दै केसीलाई कारबाही हुनुपर्ने माग राखे ।
केसीका पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पक्राउ आदेश जारी गर्नुपर्ने तर्क पेश गरे । इजलासमा केसी पक्षका वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले प्रधानन्यायाधीश पराजुलीले किर्ते गरेको भन्दै उनलाई कारबाहीको माग गरे ।
डा. केसीले न्यायाधीशसँग माफी मागे
अदालतको अवहेलना मुद्दाको बहसमा सहभागी हुँदै डा. गोविन्द केसीले प्रधानन्यायाधीशबाहेकका न्यायाधीशसँग माफी मागेका छन् । आफ्नो लडाईँ प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध भएको भन्दै उनले अन्य न्यायाधीशलाई तलमाथि परेको भए माफी चाहान्छु भनेका छन् । साथै आफू अदालतको अवहेलना मुद्दाबाट नडराउने प्रष्ट पार्दै डा. केसीले पराजुलीमाथि छानबिन गर्न माग गरेका छन् ।