काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले आगामी वर्षको बजेटमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रतिवद्धता गरेपछि बजेट सहजै पारित भएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीको प्रतिवद्धताका कारण बजेट सहजै पारित भएको बताउनुभएको हो ।
उहाँले सरकारले समस्याको बोध गहिराईबाटै भएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा आमुल परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी वर्ष बजेटको सिद्धान्त र प्राथमिकता, नीति, योजना, कार्यक्रम बजेट निर्माणमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रधानमन्त्रीको संकल्पका कारण बजेट पारित भएको बताउनु भयो ।
उहाँले सरकारको धरातल कमजोर नभएको भन्दै सरकार पाँचै वर्ष चल्ने बताउनु भयो । सांसद दाहालले बजेटमा भएका प्राविधिक कमजोरीहरुलाई सच्याइएको पनि बताउनु भयो ।
उहाँले सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचारको अन्त्य गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । सरकारले देशमा देखिएका बेथिति र अराजकतालाई हटाउने गरी काम गरिरहेकोले सकार ढल्ने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उहाँको भनाई छ ।