काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पार्टी स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जायर हुन थालेको बताउनुभएको हो । उहाँले त्यसको स्पष्ट संकेत देखिइसकेको भन्दै आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकरात्मक रुपमा बितेको दाबी गर्नुभयो । रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको उहाँको भनाइ थियो ।
सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनु भयो । आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताउनुभयो ।
बिहीबार नै पार्टी प्रवेश गर्नुभएका पूर्व बैंकर अनिल केशरी शाहले सभापति लामिछाने र आफ्नो सोच मिलेकाले पार्टी प्रवेश गरेको बताउनु भयो । देशमा नेतृत्वको अभाव रहेको कुरा आफूले महशुस गरेको भन्दै नेतृत्व विकासको सिप प्रयोग गर्न चाहेको उहाँको भनाइ थियो ।
शाहलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।