काठमाडौं । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित भएको हो ।
३४० रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४९.४ ओभरमा सबै विकेटको क्षतिमा २३८ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि आरिफ शेखले अर्शतक बनाए । ब्याटिङमा खराब सुरुवात गरेको थियो । आरिफले ९३ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ६३ रन बनाए । त्यस्तै, गुल्सन झाले ४२, कप्तान रोहितकुमार पौडेलले ३०, आफि शेखले २८, करण केसीले २८, दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३९ रन बनाएको थियो ।
नेपालका लागि ललितनारायण राजवंशीले तीन विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले १–१ विकेट लिए ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । सुपर सिक्समा पुग्न भने नेपालको एक आशा बाँकी छ । त्यसका लागि नेपालले नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने हुन्छ । सँगै सोमबारको हुने नेदरल्यान्ड्स र वेस्ट इन्डिजबीचको खेलमा नेदरल्यान्ड्स पराजित हुनुपर्नेछ ।




