काठमाडौं, ६ असार । मंगलबार जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भएको छ । उनको उपचारका क्रममा मंगलवार नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो ।
नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा. ढुण्डीराज पौडेलले विज्ञप्तिमार्फत् सिंहलाई साँझ मृत घोषित गरिएको जानकारी दिएका हुन् । अस्पताल पुर्याउँदा मन्त्री सिंहको शरीरमा नाथीको चाल नभएको र मुटुको धड्कनले पनि काम गर्न छाडिसकेको अवस्था रहेको अस्पतालले जनाएको छ ।
सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो । घाइते धर्मराज जोशी र दिपेन्द्र भण्डारीको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । मन्त्री सिंह सवार गाडी मंगलबार अपरान्ह बझाङको केदारस्यु गाउँपालिकाको कालंगा नदी किनारमा दुर्घटनामा परेको थियो । नेपाली कांग्रेसले बझाङका पूर्वसभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गर्दै मन्त्री सिंह आफ्नो धर्मपत्नी अमृतादेवी र भाउजू जयादेवी सिंह गृहजिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।