५ बैशाख्,रोल्पा ।नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री शंकर पोख्रेलले मधेशी मोर्चा पनि अन्त्यमा स्थानीय निर्वाचनकै पक्षमा आउने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल रोल्पाले मंगलवार लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोख्रेलले मधेशी दलका नेताहरुले विरोध गरेपनि मधेशका जनता निर्वाचन छिटो गर्नु चाहिरहेको बताउनु भयो । उहाँ मधेशी दलहरु पनि देशको जिम्मेवार शक्ति भएकाले निर्वाचनमा सहभागी हुन आउने धारणा राख्नु भयो ।
२०७० सालको संविधान सभाको निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी पार्टी पनि अहिलेको स्थानीय निर्वाचनमा आउन लागेको उदारहण दिदैं निर्वाचनमा सहभागि हुनुको विकल्प नभएको समेत उहाँले प्रष्ट पार्नुभयो । जनताले निर्वाचन चाहेकाले सरकारले तोकिएकै समयमा निर्वाचन गराउन खुट्टा कमाउन नहुने बताउनुभयो ।




