विकट क्षेत्रमा विद्यालय जानेको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

विकट क्षेत्रमा विद्यालय जानेको संख्या बढ्यो

school

ललित सिंह,
बझाङ ,२५ पुष । शिक्षाका लागि खाद्य कार्यक्रम’ लागू भएपछि बझाङका विकट क्षेत्रमा विद्यालय जानेको संख्या बढ्यो, शिक्षाको स्तरमासमेत सुधार ।

हिमाली जिल्ला बझाङमा ‘शिक्षाका लागि खाद्य कार्यक्रम’ लागू भएपछि विकट क्षेत्रका विद्यालयमा विद्यार्थी भर्ना बढेको छ । ‘शिक्षाका लागि खाद्य कार्यक्रम’का कारण विद्यार्थी नियमित विद्यालय जान थालेपछि शिक्षाको स्तरसमेत बढेको छ ।

बझाङमा ‘शिक्षाका लागि खाद्य कार्यक्रम’ २०५७ सालदेखि लागू भएको हो । कार्यक्रमअन्तर्गत प्रावि, निमावि र बालकक्षा गरी तीन सय दुईवटा विद्यालयका ३५ हजार दुई सय ८६ विद्यार्थीले लाभ लिइरहेका छन् । कार्यक्रमका कारण बालबालिकाहरू सँगै बसेर खानपिउन थालेपछि गैरदलित र दलितबीचको खाडल पनि पुरिँदै गएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण विद्यालयको शुल्क तिर्न र खाजा खान नसक्ने अवस्थाका बालबालिका हिजोआज नियमित विद्यालय जान थालेका छन् भने ‘हाफ टाइम’मा भागेर घर जाने प्रवृत्तिको समेत अन्त्य भएको छ ।

विश्व खाद्य कार्यक्रम र शिक्षा मन्त्रालयको आर्थिक सहयोगमा ‘शिक्षाका लागि खाद्य कार्यक्रम’ सञ्चालन भएको हो । विश्व खाद्य कार्यक्रमको सहयोगमा बझाङका ४३ विद्यालयमा इलेक्ट्रोनिक कक्षासमेत सञ्चालन भएको, जसबाट ९ सय ५६ विद्यार्थी लाभान्वित भइरहेका छन् ।

‘शिक्षाका लागि खाद्य कार्यक्रम’ अन्तर्गत प्रत्येक विद्यार्थीले दैनिक ९० ग्राम पिठो, १० ग्राम तेल, १० ग्राम चिनी र एक सय १० ग्राम पौष्टिक आहार पाउँछन् ।