सांसद खनालले प्रधानमन्त्री भैँसी चढेर आएको भनेपछि... | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

सांसद खनालले प्रधानमन्त्री भैँसी चढेर आएको भनेपछि…

काठमाडौं । प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्री भारतबाट फर्किदा भैँसी चढेर आएको’ भन्ने कुराले प्रवेश पाएपछि बैठक केहीबेर अवरोध हुन पुगेको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण र नागरिकता प्रमाणिकरणको सम्बन्धमा आफ्नो मन्तव्य राखेसँगै सांसदहरुलाई प्रश्न सोध्न दिइएको थियो । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट भैँसी चढेर आउनुभएको भन्ने कुरा राख्नुभएको थियो ।

उहाँले भन्नुभएको थियो – ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर । दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरु आए …’

लगत्तै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसदहरुले नियमापत्ति जनाउँदै उठेका थिए । सभामुखले प्रमुख सचेतक हितराज पाण्डेलाई आफ्नो कुरा राख्न समय दिएसँगै उहाँले संसदमा अमर्यादित शब्द प्रयोग भएको उल्लेख गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संसदमा मर्यादित शब्द प्रयोग हुनुपर्छ । भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट मेटाइयोस् ।’

यता, हीतराज पाण्डे लगायतका माओवादी केन्द्रका सांसदहरु उठेसँगसँगै विपक्षी दल एमाले, रास्वपा लगायतका सांसदहरु पनि उठिसकेका थिए । उनीहरुको कुरा थियो सांसद खनाल बोल्दाबोल्दै सत्तारुढ दलका सांसदहरुले बोल्न नदिएर नियम मिचेको । सभामुखले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिनुभयो । थापाले सत्तारुढ दलका सांसदहरुले दादागिरी देखाएर प्रतिपक्षका सांसदलाई बोल्न नदिएको र प्रतिनिधि सभा नियमावलीको नियम मिचेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यहाँ माननीय सदस्यले बोलिरहेको बेला सत्ता पक्षका माननीय सदस्यहरुले दादागिरी देखाउन पाइँदैन । यो बोल्ने अधिकारमा कुण्ठित गर्न पाइदैनँ । यो नियमावलीको पालना गरियोस् । यसको निम्ति जोड गर्न चाहन्छु । यो दादागिरी स्वीकार्य हुन्न । यो कुनै हालतमा स्वीकार्य हुन्न ।’

यसपछि सभामुखले प्रश्न सोध्ने सांसदहरुलाई मर्यादामा रहेर प्रश्न गर्न र कोही सदस्य बोल्दै गर्दा अर्को सदस्यले प्रतिवाद नगर्न अनुरोध गर्दै प्रतिनिधि सभा नियमावली नियम २०(झ) प्रति सांसदहरुलाई आकर्षित गर्नुभयो । सभामुखको आग्रहपछि पनि सत्तापक्ष र प्रतिपक्षका सांसदहरु नबसेपछि सभामुखले प्रधानमन्त्री भैँसी चढेर आएको भन्ने शब्द संससदको रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो – ‘भैँसी चढेर आएको भन्ने शब्द यो रेकर्डबाट हटाउनको लागि म सचिवालयलाई निर्देशन दिन्छु ।’

यसपछि प्रतिपक्षी दलहरुको बिरोध झनै चर्को भयो । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री स्वयंले संसदको रोष्टमबाट भैसी चढेर प्रशंग निकालेको भन्दै प्रधानमन्त्रीको शब्द पनि रेकर्डबाट हटाउन माग गर्नुभयो । रास्वपा सभापति तथा सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले बोलेको शब्द पनि हटाउन माग गर्नुभयो । बैठक अवरोध जारी रह्यो ।

त्यसपछि सभामुखले भैँसी चढेर आएको भन्ने शब्द जसले बोलेको भएपनि रेकर्डबाट हटाउन निर्देशन गरेको कुरा बैठकलाई जानकारी गराउनु भयो । प्रधानमन्त्रीको नाम भने लिनुभएन । प्रतिपक्षीहरु प्रधानमन्त्रीको नामै लिएर शब्द हटाउन निर्देशन दिनुपर्ने मागमा थिए । बैठक अवरोध जारी रह्यो ।

लगत्तै सभामुखले प्रधानमन्त्री भारत भ्रमणबाट आउँदा भैसी चढेर आएको भन्ने शब्द संसद रेकर्डमा रहनु उपयुक्त नभएको पुनः ध्यानाकर्षण गराउनु भयो । यसर्थ आफूले हटाउन रुलिङ गरिसकेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीले बोलेको र सांसदले बोलेको कुरालाई एकै ठाउँमा गाँसेर हेर्न नमिल्ने बताउनु भयो । र बैठक सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आजको हाम्रो छलफलमा छलफल चलिरहँदाखेरी हाम्रो देशको प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल प्रचण्डज्यु भारतबाट नेपाल आउँदा भैँसी चढेर आएको भन्ने शब्द यो रेकर्डमा रहनु उपयुक्त भएन । त्यसले गर्दाखेरी यस्ता शब्द हटाउनु उपयुक्त हुन्छ भनेर मैले रुलिङ गरेको छु । जहाँसम्म प्रधानमन्त्रीज्यू बोल्दाखेरी मलाई पनि भैँसी चढाएका थिएँ भन्ने कुरा आज उहाँ बोल्दाको रेकर्डमा आएको छ । भैसी म पनि चढेको थिएँ, भैसी चढाएका थिए भन्ने उहाँको कुराहरु आएको छ । यसलाई त्यसरी एकै ठाउँ गासेर नहेरिकन भैँसी चढेर आएको हाम्रो प्रधानमन्त्री भारतबाट भन्ने रेकर्ड हाम्रो संसदको यो इतिहासमा त्यस्तो रेकर्ड उचित हुन्न भनेर मैले रुलिङ गरेको कुरालाई अनुरोध गर्दै माननीयज्युहरु बसौँ । खासगरी नियमावलीमा आकर्षित भएर आफ्ना विषयहरुलाई राखौँ । आपत्तिहरुलाई राखौँ र व्यवस्थित ढंगबाट संसद सञ्चालन गर्न लागौँ । म यहाँहरुलाई यो अनुरोध गर्दछु ।’

यससँगै सबै सांसदहरु आ–आफ्नो सिटमा बसे । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यसूचिले निरन्तरता पायो । यसअघि बोल्दाबोल्दै रोकिन पुगेका रास्वपा सांसद शिशिर खनालले आफ्नो प्रश्नलाई पूर्णता दिन पाउनुभयो र सांसदहरुको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रम क्रमशः अगाडी बढ्यो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);