काठमाडौं, २४ पुष । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयले प्रदेश र स्थानीय तहको आम्दानी र खर्च प्रणालीलाई एकरुपता दिन सुत्र नामक सफ्टवयर लेखा प्रणालीको विकास गरेको छ । पेफा सचिबालयले स्थानीय सञ्चित कोष ब्यवस्थापन प्रणाली विकास गरेको हो । यसलाई अंग्रेजीको छोटकरीमा सुत्र नाम दिइएको छ ।
यो प्रणाली अर्थमन्त्रालयको बजेट तथा कार्यक्रमम महाशाखाको निर्देशनमा बनाइएको सचिवालयले जनाएको छ । यो लेखा प्रणाली महालेखा नियन्त्रकको कार्यालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँगको सहकार्यमा बनाइएको हो । यो प्रणालीलाई सरकारले मंसिर ३ गते स्वीकृत गरेको हो ।
सबै स्थानीय तह र प्रदेश सरकारलाई निःशुल्क उपलब्ध गराइने यो प्रणाली संचालनका लागि आवश्यक पूर्वाधार र जनशक्तिको प्रशिक्षण तथा संचालन लागत मात्रै ब्यवस्थापन गरे पुग्ने सचिवालयको दाबी छ । अनलाइनमा आधारित यो प्रणाली कुनै पनि वेब ब्राउजरबाट सहजै खोल्न सकिनेछ । तर यसका रिपोर्टस् राम्रो रुपमा प्राप्त गर्न र प्रिन्ट गर्न भने फायरफक्स ब्राउजर बढी प्रभावकारी रहेको छ ।